बैठकका निर्णय सरकारले पालना गर्ने कि नगर्ने ? -अध्यक्ष दाहाल ‘प्रचण्ड’

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पार्टीले गरेको निर्णयलाई सरकारले कार्यान्वयन गर्दा असाध्यै राम्रो सन्देश गएको बताए ।

उनले भने, ‘जब राष्ट्रियताको कुरा आयो । हिन्दूस्तानले नेपाली भूमि समेटेर नक्सा निकाल्यो । कार्यकारी अध्यक्षका रुपमा स्थायी कमिटीको बैठकले तुरुन्तै नक्सा बनाउने निर्णय गरेको हो ।’ पार्टीले गरेको निर्णयका आधारमा सरकारले काम गर्दा सकारात्मक नजिता देखिएको तथ्य पेश गर्दै उनले सामूहिक निर्णय नहुँदा कतिपय विषय धेरै विवादित हुन पुगेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, ‘माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नक्सा छिटो प्रकाशन गर्ने कुरा उठेको थियो । अन्तिमसम्म पनि नक्सा नआउने देखेपछि सरकारको नीति कार्यक्रम सार्वजनिक गर्ने दिन बिहान सचिवालयले निर्णय गर्यो र हामीले बैठकबाट पारित गरेको कुरा नीति कार्यक्रममा समेटियो ।’ पछिल्ला दिनमा पार्टीभित्र विचारलाई प्राथमिकतामा राख्ने कि पावरलाई ? भन्ने जस्ता विषय बहसका रुपमा आएको उनको भनाइ थियो । ‘हुँदाहुँदा अहिले हाम्रो पार्टीमा बैठक बस्नै कठिन हुने अवस्था आउन थाल्यो । बैठक बसिसकेपछि त्यसको गरिमालाई कायम राख्ने कि नराख्ने भन्ने अवस्था पनि आयो’, उनले भने, ‘बैठकका निर्णय सरकारले पालना गर्ने कि नगर्ने ?’

उनले पार्टी भनेको विवेक र सरकार भनेको सत्ता रहेको उल्लेख गर्दै भने, ‘विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ । सत्ताले पार्टीमाथि हैकम चलाउने काम ग¥यो भने त्यो गैर वैज्ञानिक हो । दुई वर्ष हेर्यौँ भने सरकारले पार्टी चलाउने काम भएको हो कि भन्ने देखिन्छ ।’

अध्यक्ष दाहालले पार्टीभित्रको विवाद बाहिर पदका निम्ति पो हो कि भन्ने देखिएको भए सच्याउनुपर्ने बताए । उनले भने, ‘समाजवादी अर्थतन्त्र कस्तो हुने, समाजवादी राजनीतिक कस्तो हुने भन्ने बहस हो । यो यही नै बहस हो भनेर आम कार्यकर्तामा लैजान सक्नुपर्दथ्यो त्यो सकिएको छैन ।’

उनले भने, ‘हामी कुनै पनि स्थितिमा पार्टीलाई विभाजनबाट रोक्न अन्तिमसम्म प्रयास गरिरहेका छौँ । पार्टीलाई एकताबद्ध राखिनेछ । यो बहसको निष्कर्ष पार्टीमा विचार पनि स्पष्ट भएर आउने र विधि पनि स्पष्टरूपमा पालना गर्ने हिसाबले अघि बढ्नेछ ।’

आन्तरिक बहसबाट अझ खारिएको र एकताबद्ध पार्टीको विकास हुने विश्वास व्यक्त गर्दै उहाँले हामी सबैले एकताका निम्ति सही र सचेत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले पार्टीले सामूहिकरुपमा गरेको निर्णयको श्रेय व्यक्तिले खल्तीमा हाल्ने कुरा भयो भने त्यो राम्रो नहुने भन्दै सामूहिक प्रयासको प्रतिफललाई पनि सोहीअनुसार संस्थागत गर्नुपर्ने बताए ।

पार्टी भनेको सामूहिक सोच र विवेकमा चल्ने निकाय भएकाले पछिल्ला दिनमा भए गरेका गतिविधिले त्यसलाई बल पु¥यायो कि पु¥याएन भन्ने विषय महत्वपूर्ण रहेको बताए । पार्टीभित्र देखिएको समस्याको समाधान गर्ने कसरी भनेर छलफल गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले पार्टीलाई विधि र विचारमा चल्ने अवस्था सिर्जना गरिने उल्लेख गरे।

‘पार्टी भनेको विचार र विधि हो । कुनै एकले मात्रै पार्टी बन्दैन । विचार र विधिको वैज्ञानिक संयोजन नै पार्टी जीवनको आधार हो’, उनले भने ।

आफैँलाई सर्वोपरी ठानिए कसैको हितमा हुँदैन : नेता नेपाल

सोही कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विधिको पालना नगरेर ‘मै स्टेट हुँ’ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो भने त्यसले कोही कसैको हित नगर्ने बताए ।

उनले भने, ‘आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्न थालियो, आफूबाहेक दुनियाँमा कसैको अर्थ छैन भन्ने ठान्न थालियो, त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुनेबाहेक अर्को केही पनि हुँदैन ।’

उनले पार्टी नेतृत्वमा रहेका हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेका छौँ भने त्यसबाट उम्किन सके जोगिने भन्दै समय छँदै विचार गर्नुपर्ने बताए । कम्युनिस्ट आन्दोलनका हितका लागि हामीले आफूलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले नयाँ शिराबाट अगाडि बढेर रुपान्तरित हुनुको विकल्प नभएको उल्लेख गरे ।

नेता नेपालले भने, ‘नेपाली जनताको नासोका रूपमा रहेको यो आन्दोलन र कम्युनिस्ट पार्टीलाई राम्ररी अगाडि लिएर जान सुविचारित, सुसङ्गठित ढङ्गले काम गर्नका लागि नयाँपुस्तालाई सग्लोरूपमा नै दिने ढङ्गले सोचौँ ।’ आफूसँगसँगै आन्दोलनलाई नै समाप्त पार्ने मूर्खतापूर्ण काम कोही कसैबाट नहोस् भन्नेमा आफ्नो शुभेच्छा र सद्भाव रहेको बताए ।

उनले भने, ‘तपाईंहरूलाई चिन्ता छ कम्युनिस्ट पार्टी फुट्छ कि भनेर, फुट्दैन । कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिस्ट पार्टी फुट्नेवाला छैन ।’ कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने काम आफूहरुले गरिरहेको भन्दै नेता नेपालले हामीले सक्छौँ भन्ने सङ्कल्प र आँटका साथ पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

उनले भ्रम पैदा गर्ने वा कुप्रचार गर्नेको पछि लाग्नुपर्ने कुनै कारण नभएको भन्दै तरङ्गीत नहुनसमेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘तपाईंहरूले विश्वास गरेर हामीलाई अगाडि बढाउनुभएको छ । त्यो विश्वासमा घात नहोस् भन्ने कुराप्रति तपाईंहरू पनि सजग रहनुपर्छ । यो आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका लागि अहिले अवसर प्राप्त गरेका छौँ ।’

पार्टीभित्रको समस्यालाई पनि छलफलबाट समाधान गर्न अधिकतम कोसिस गरिरहेको जानकारी दिँदै नेता नेपालले आफूहरुका निम्ति व्यक्ति प्रमुख नभई विधि, नीति, पद्धति महत्वपूर्ण भएको बताए ।

पार्टीको निर्णयलाई मान्दिन भन्ने छुट कोही कसैलाई नभएको उल्लेख गर्दै वरिष्ठ नेता नेपालले भने, ‘म मान्दिन भन्ने छुट कसैलाई पनि छैन । सबैमा यो चेत पलाउनेछ । हामी सबैले जिम्मेवार भएर सोचौँ । आफूलाई अपरिहार्य नठानौँ, सबैको बुद्धि, खुबी, क्षमता, योग्यता र आआफ्नो भूमिका सम्झेर अगाडि बढौँ र कमीकमजोरी सुधारौँ ।’

Facebook Comments Box