मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश भएको र नेपालको संविधानले नै बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका छन् ।
समाजमा विकसित भएका सामाजिक मूल्यमान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।’
नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको तथ्य पेश गर्दै उनले जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण भएको बताएका छन् ।
अध्यक्ष दाहालले सोही पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै सन्देशमा बकर इद पर्वले नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि ल्याउने उल्लेख गरेका छन् । रासस