“हामी हरेक सिपाही हो, हामी हरेकले लडाइँ गर्नुपर्छ ।” प्रधानमन्त्री ओली

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवोचित जीवन र समाजका निम्ति सरकार सधैँ अग्रसर रहेको बताउनुभएको छ । यसका लागि आवश्यक सहयोगका लागि सरकार क्रियाशील रहने समेत उहाँले स्पष्ट पार्नुभयो ।
मानव सेवा आश्रमको आठाँै वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारको कर्तव्य नै हो सामाजिक सुरक्षा, कोही अशक्त र बेसहारा नहोस्, कुनै पनि कारणले कोही पनि मानिस मानवोचित जीवनबाट वन्चित हुनुहुँदैन ।”
सरकारले आश्रमको अक्षयकोषका लागि थप एक करोड रुपियाँ सरकारका तर्फबाट थपिदिने घोषणा प्रधानमन्त्री ओलीले गर्नुभयो । विभिन्न सङ्घ संस्थाले र व्यक्तिले पनि कोषमा सहयोग पु¥याउन हात बढाउन उहाँले आग्रह गर्नुभयो ।
बन्धुत्वविहीन र सहारा नपाएर बाँच्नुपर्ने नेपालका लागि शुभ नभएकाले यसका निम्ति सरकार र समाज मिलेर यी प्रयासलाई अगाडि लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारले सानो सहयोग मात्र गरेको तर समर्पित भएर लागेका अभियन्ताको भूमिका ठूलो रहेको प्रधानन्त्रीको भनाइ छ । संस्थालाई सहयोग पु¥याउने व्यक्ति र सङ्घ संस्थाको सहयोग ठूलो रहेकाले निरन्तरता दिन उहाँले अपिल गर्नुभयो । हाल कोरोना भाइरस महामारीको गम्भीर अवस्थाका कारण आर्थिक हिसाबले सरकार आफैँ त्यति सबल नरहे पनि सरकार र आश्रमको भावना मिलेकाले २०७८ सम्ममा देशलाई सडक मानवमुक्त देश बनाउने लक्ष्यमा अग्रसर रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
नेपाल कोभिड–१९ सँग जुधिरहेको अवस्थामा हरेक देशवासीले प्रभावकारी रूपमा भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । “हामी हरेक सिपाही हो, हामी हरेकले लडाइँ गर्नुपर्छ । यस लडाइँका लागि सबैले सरकारी आदेश पालना गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कोरोनामाथि मानवजातिले विजय प्राप्त गर्ने भन्दै उहाँले विश्वमा भइरहेका प्रयासको चर्चा गर्नुभयो । नेपालमा यसका निम्ति मास्क लगाउने, साबुनपानीले हात धुने, हाम्रा खानपिन, व्यायाम, आराममा ध्यान दिने कार्य गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले ताजा र औषधीय गुण भएका खानेकुराको प्रयोग गर्दै हाम्रा भान्छामा प्रयोग गरिएका मसला बेसार, टिम्बुर, लसुनलगायतका सामग्री प्रयोग गर्न सुझाव दिनुभयो  ।
स्वास्थ्यसम्बन्धी कुरामा थप ध्यान दिँदै कोरोना भाइरसबाट जोगिनका निम्ति अलिकति पनि लापरबाही नगरिकन दैनिक जीवनका कार्यमा समेत सतर्कता अपनाउँदै आफूलाई सुरक्षित राख्न उहाँले सुझाउनुभयो । यस्तो बेलामा करेसाबारी र कौशीखेतीमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले निःस्वार्थ सेवामा आफू जोडिएको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकार र मन्त्रालय मानव जीवन र समाज रूपान्तरणमा अग्रसर रहेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ कलाकार हरिबंश आचार्यले मानव सेवामा अग्रसर प्रधानमन्त्री ओली आफ्नो लागि राम भएको बताउनुभयो । रामले झैँ असक्त मानवका निम्ति सहयोग गर्न नजिक आउनुभएकाले प्रधानमन्त्रीले राम झैँ भूमिका निर्वाह गर्नुभएको उहाँले औँल्याउनुभयो ।
आश्रमका प्रमुख संरक्षण गोविन्द टण्डन समेतले बोल्नुभएको कार्यक्रममा विभिन्न प्रदेशका मुख्यमन्त्री, महानगर तथा नगरप्रमुख, सांसदलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । मानवसेवा आश्रमले सात प्रदेशका १५ जिल्लामा २१ आश्रममार्फत सेवा गरिरहेको अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । जसमा एक हजार ५५ जना आश्रित छन् । पोखरामा मानवीय पर्यटनसँग जोडेर ५८ रोपनी जग्गामा मानवसेवा धाम, शास्वतग्राम निर्माणको पहल भइरहेको जनाइएको छ ।

Facebook Comments Box