काठमाडौं । अमेरिकाले इरानमाथि हमला गरेपछि इरानले होर्मुज स्ट्रेट बन्द गर्ने तयारी थालेको छ । इजरायलसँग युद्ध गरिरहेको इरानले अमेरिकाको हमलाको प्रत्युत्तरमा होर्मुज स्ट्रेट बन्द गर्न लागेको हो । यसअघि पनि इरानले होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी दिएको थियो । तर, सोमबार इरानको संसद्ले सर्वसम्मतले सो निर्णय गरेसँगै तरंग उत्पन्न भएको छ ।
इरानको संसद्ले सर्वसम्मत निर्णय गरेसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियाले होर्मुज स्ट्रेट बन्द गर्नबाट रोक्न चीनसँग आग्रह गरेको छ । होर्मुज स्ट्रेट कच्चा तेल व्यापार गर्ने एक प्रमुख मार्ग हो । सो मार्गबाट विश्वमा चाहिने २० प्रतिशत तेल आउने–जाने गर्छ । यदि, इरानले यो मार्ग बन्द गरिदिएमा अमेरिकालगायत युरोपेली मुलुकमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । आर्थिक उत्तारचढाव बढ्ने भएकाले पनि अमेरिकाले चीन सरकारलाई सो मार्ग बन्द हुनबाट रोक्न आग्रह गरेको हो ।
इरानबाट सबैभन्दा धेरै तेल आयात चीनले गर्दै आइरहेको छ । इरान ओपेकको तेस्रो ठूलो तेल उत्पादक हो, जसको दैनिक उत्पादन ३ दशमलव ३ मिलियन ब्यारेल रहेको छ । केप्लरको तथ्यांकअनुसार पछिल्लो महिनामा इरानले १ दशमलव ८४ मिलियन ब्यारेल प्रतिदिन निर्यात गरेको थियो । यसको अधिकांश भाग चीनलाई बिक्री गरिएको थियो ।
सबैभन्दा ठूलो तेलको ग्राहक भएकाले पनि चीनले इरानको समर्थन गर्दै आइरहेको छ । इजरायल र अमेरिकाले इरानमाथि हमला गर्दा पनि चीनले आफ्नो समर्थन इरानलाई गरेको थियो । साथै, सहयोग गर्ने आश्वासन पनि दिएको थियो । इरानमाथि हमला भएपछि छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपतिसँग फोनवार्ता गरेका थिए । भारत पनि इरानको तेलसँग निर्भर रहँदै आएको छ । त्यसैले पनि तेल कूटनीतिका लागि भए पनि भारतले आफ्नो सहानुभूति इरानलाई दिँदैआएको छ ।
अमेरिकाले शनिबार इरानका तीन प्रमुख आणविकस्थलमा आक्रमण गरेपछि इरानी विदेशमन्त्रीले आइतबार बिहान देशको सार्वभौमसत्ता रक्षा गर्न सबै विकल्प खुला राखिएको चेतावनी दिएका थिए । सोही चेतावनीअनुसार नै इरानले होर्मुज स्ट्रेट बन्द गर्ने तयारी गरेको हो । इरानको संसद्ले सर्वसम्मतले होर्मुज स्ट्रेट बन्द गर्ने निर्णय गरेसँगै अब इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अन्तिम स्वीकृति दिएसँगै यो निर्णय कार्यान्वयनमा जानेछ । त्यसपछि विश्वमा भइरहेको कच्चा तेलको ओसारपसार बन्द हुने सम्भावना रहन्छ ।
२० प्रतिशत विश्वको तेल आपूर्ति यही मार्गबाट
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)का अनुसार सन् २०२४ मा होर्मुज स्ट्रेट हुँदै दैनिक २० मिलियन ब्यारेल कच्चा तेल अर्थात् विश्वको कुल तेल खपतको २० प्रतिशत प्रवाहित भएको थियो ।
गोल्डम्यान स्याक्स र परामर्शदाता संस्था रेपिडान इनर्जीका अनुसार यदि होर्मुज स्ट्रेट लामो समयसम्म बन्द भयो भने तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुग्नसक्छ ।
के हो होर्मुज स्ट्रेट ?
होर्मुज स्ट्रेट इरान र ओमानको सिमानामा अवस्थित एक रणनीतिक रूपमा महत्वपूर्ण जलमार्ग हो । यसले फारस (पर्सियन गल्फ) र ओमानको खाडीलाई जोड्छ । यो साँघुरो जलमार्ग कतिपय स्थानमा केवल ३३ किलोमिटर चौडा छ । यसको महत्व यसबाट प्रवाहित हुने विश्वको कुल तेल आपूर्तिको करिब पाँचौं हिस्साका कारण बढेको हो । यो मार्ग विश्वभर ग्यास र तेल आपूर्तिका लागि महत्वपूर्ण छ ’cause यसले मध्यपूर्वका तेल उत्पादक देशहरूबाट एसिया, युरोप र उत्तर अमेरिकालगायत विश्वका अन्य भागमा तेल र ग्यास पु¥याउँछ । यसले उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अरब इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्छ ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र इरानबाट निर्यात हुने कच्चा तेल यही मार्ग हुँदै अन्य देशमा पुग्छ । यसैगरी, विश्वको सबैभन्दा धेरै लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) निर्यात गर्ने देश कतार पनि यही मार्गमा निर्भर छ । यहाँबाट प्रतिदिन करिब २ करोड ब्यारेल कच्चा तेल ढुवानी हुन्छ, जुन विश्वव्यापी दैनिक उत्पादनको पाँचौं हिस्सा हो ।
त्यसैले, अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि स्ट्रेट अफ होर्मुज अत्यधिक महत्वपूर्ण समुद्री बाटो हो । कच्चा तेल व्यापारको सबैभन्दा ठूलो मार्गका रूपमा लिइने होर्मुज स्ट्रेटबाट विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास ढुवानी हुन्छ । तेल निर्यातका लागि प्रमुख तेल उत्पादक देशहरू साउदी अरब, इराक, कुवेत, कतार पनि यही बाटोमा निर्भर छन् । त्यसैले, होर्मुज स्ट्रेट बन्द हुँदा विश्वव्यापी रूपमै तेल आपूर्तिमा समस्या सिर्जना हुन्छ र तेलको मूल्यमा उच्च वृद्धि हुन्छ । यही रणनीतिक महत्वका कारणले यो क्षेत्र दशकौंदेखि भू–राजनीतिक तनाव र विवादको केन्द्रमा रहँदै आएको छ ।
तेल बजारमा देखिन थाल्यो उतारचढाव
इजरायल र इरानबीच बढ्दो तनावका कारण तेल आपूर्तिमा पर्नसक्ने प्रभावको पूर्वानुमानले हालै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ । त्यसको प्रभाव मध्यपूर्वमा मात्रै नभई दक्षिण एसियाली मुलुकमा समेत पर्ने देखिन्छ । छिमेकी मुलुक भारतले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगम (आईओसी)ले पठाउने मूल्य सूचीका आधारमा नेपालमा मूल्य निर्धारण हुने गर्छ ।
नेपाल आयल निगम (एनओसी)का अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय घटनाको प्रभावले देशमा स्वचालित बिक्री मूल्य प्रणाली लागू रहे तापनि विशेष निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् । अब आउने एक सातापछिको नयाँ दरसँगै त्यसको मध्यपूर्वको तनावको झल्को देखिनेछ ।
आइतबार ब्रेन्ट क्रुडको मूल्य जनवरीयताकै उच्च प्रतिब्यारेल झन्डै ७९ अमेरिकी डलर पुगेको थियो । भारतबाट नेपालले पाएको अघिल्लो मूल्य प्रतिब्यारेल ६५ अमेरिकी डलर हुँदाको रहेको आयल निगमका अधिकारीहरू बताउँछन् ।
एसियाली बजारमा कति छ तेलको मूल्य ?
एसियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य २ दशमलव ८ प्रतिशतले बढेर ७६ दशमलव ३७ डलर प्रतिब्यारेल पुगेको थियो भने अमेरिकी कच्चा तेलको मूल्य करिब २ डलर बढेर ७५ दशमलव शून्य १ डलर प्रतिब्यारेलमा पुगेको थियो । यो वृद्धि शुक्रबारको ७ प्रतिशतको तीव्र वृद्धिको लगत्तै भएको हो ।
सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धका क्रममा दुवै देशले एक–अर्काको तेल आपूर्ति यही मार्गमा रोक्न खोजेका थिए । त्यस संघर्षमा व्यावसायिक ट्यांकरहरूमा आक्रमण भएका थिए, जसलाई ‘ट्यांकर युद्ध’का नामले चिनिन्छ । यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको थियो ।
कति छ नेपालमा भण्डारणको क्षमता ?
नेपाल आयल निगमका अनुसार नेपालको हालको भण्डारण क्षमताका आधारमा पेट्रोलियम पदार्थ अहिलेको अवस्थामा पेट्रोलको भण्डारणले ७ देखि ८ दिन थेग्नसक्ने अवस्थामा छ । त्यसैगरी, डिजेल १० देखि १२ दिन, हवाई इन्धन ८ देखि १० दिन र मट्टीतेल एक महिनासम्मै धान्नसक्ने अवस्था रहने बताइन्छ ।
एलपी ग्यासका हकमा भने आयल निगमको आफ्नै भण्डार नरहेकाले त्यो ५९ वटा ग्यास उद्योगहरूमा भर पर्नुपर्ने अवस्था छ । ती उद्योगको कुल भण्डारण क्षमता झन्डै १० हजार मेट्रिक टन रहेकामा नेपालको मासिक खपत ५० हजार मेट्रिक टन जति रहेकाले त्यसले झन्डै पाँच दिन धान्नसक्ने बताइन्छ ।
