काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेलाई दिल्लीमा भव्य स्वागत गरिएको छ ।सोमबार दिउँसो दिल्ली पुगेका लामिछानेलाई विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए । लामिछानेको स्वागतका लागि दिल्लीका विभिन्न मुख्य स्थानहरूमा उनको तस्बिरसहितका होर्डिङ बोर्डहरू राखिएका छन् । यसअघि नेपालका शीर्ष तहका नेताहरू भारत भ्रमणमा जाँदा देखिने यस्तो प्रचलन यस पटक लामिछानेको हकमा पनि दोहोरिएको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेको यो भ्रमण जेठ १८ देखि २२ गतेसम्म तय गरिएको छ । भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटहरू गर्ने तालिका छ । आफ्नो पाँच दिने बसाइका क्रममा लामिछानेले भाजपाका शीर्ष नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग अन्तर्क्रिया गर्नेछन् ।
