बयानका लागि जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको पत्र

मुख्य समाचार समाचार

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित भई बयान दिन पत्राचार गरेको छ। विभागका कर्मचारीले सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर उपस्थितिसम्बन्धी सूचना टाँस गरेका हुन्। पत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयवीरलाई बयानका लागि बोलाइएको उल्लेख छ।

यसअघि विभागले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि समेत अनुसन्धान अघि बढाउन आवश्यक पुर्जी जारी गरेको बताइएको थियो। जयवीरविरुद्ध नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का तथा राहदानी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा उजुरी परेको समाचारमा उल्लेख छ। सम्बन्धित उजुरीमाथिको अनुसन्धानकै सिलसिलामा उनलाई बयानका लागि उपस्थित गराउन पत्र जारी गरिएको विभागीय स्रोतको भनाइ छ। यद्यपि, उजुरीमा लगाइएका आरोपहरू अनुसन्धानबाट पुष्टि हुन बाँकी छन्।

Facebook Comments Box