शिक्षण अस्पताल भित्रै स्थानीयलाई बाटो, सेवा र सुरक्षामा चुनौती

समाचार

काठमाडौं । महाराजगञ्ज स्थित शिक्षण अस्पताल परिसरभित्रबाट स्थानीय बासिन्दालाई आवतजावत गर्न छुट दिने तयारी भएपछि अस्पतालका कर्मचारी र अध्ययनरत विद्यार्थीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । अस्पतालको पश्चिमपट्टि नयाँ गेट निर्माण गरेर पछाडिका करिब ३० घरधुरीलाई सहज हुने गरी बाटो खोल्ने तयारी भएको भन्दै उनीहरूले यसले अस्पतालको सेवा, सुरक्षा र व्यवस्थापनमा थप समस्या निम्त्याउने बताएका हुन् । शिक्षण अस्पतालको पश्चिमपटी नयाँ गेट निर्माणको अन्तिम चरणमा पुगेको देखिन्छ । यो गेट बनेपछि बाटो खुला हुँदा स्थानीयले त्रिवि शिक्षण अस्पतालको मुख्य गेट भएर आवत जावत गर्न सक्नेछन् । अस्पतालको ढलनिकास पश्चिम हुँदै नदिसम्म पुग्ने निकासको लागि स्थानीयले अवरोध गर्दै आएको र स्थानीयले यस वापत शिक्षण अस्पतालबाट बाटो प्रयोग गर्न दिनुपर्ने शर्त राखेपछि चिकिस्सा शास्त्र अध्ययन संस्थानले नै यस्तो छुट दिन लागेको स्रोतको दावि छ । यसरी कुनै पनि अस्पताल भित्रैबाट स्थानीय वा दोहोरो बाटो प्रयोग नभएको र अस्पतालको सुरक्षा र व्यवस्थानको दृष्टिले व्यवहारिक समेत नहुने देखिन्छ ।

दैनिक हजारौं बिरामी उपचारका लागि आउने अस्पतालमा अहिले नै अत्यधिक भीडभाड, पार्किङ अभाव र सुरक्षा चुनौती रहेको अवस्थामा बाहिरी आवतजावत खुला गर्दा अस्पताल थप अस्तव्यस्त बन्ने कर्मचारीहरूको भनाइ छ । एक पुराना कर्मचारीले भने, “अस्पताल बिरामी उपचार गर्ने संवेदनशील क्षेत्र हो । यहाँ जोसुकैको सहज आवतजावत खुला हुँदा बिरामीको गोपनीयता, सुरक्षा र अस्पतालको शान्त वातावरणमै असर पर्न सक्छ । अहिले पनि बेला–बेलामा बिरामी र कुरुवाका मोबाइल, पैसा तथा सामान हराउने गुनासा आइरहेका छन् ।”

अस्पताल परिसरलाई सार्वजनिक बाटोका रूपमा प्रयोग गर्न दिन नहुने मत विद्यार्थीहरूको पनि छ । अस्पतालमा अध्ययनरत एक विद्यार्थीले भने, “हामीले अध्ययन गर्ने वातावरण नै प्रभावित हुने देखिन्छ । एम्बुलेन्स, बिरामी बोकेका गाडी र आपत्कालीन सेवामा समेत असर पर्न सक्छ । स्थानीयलाई सुविधा दिनुपर्छ, तर त्यसका लागि अस्पतालभित्रैबाट बाटो खोल्नु उचित उपाय होइन ।” कर्मचारीहरूले स्थानीयका लागि वैकल्पिक मार्ग खोज्नुपर्ने धारणा राखेका छन् । अस्पताल जस्तो संवेदनशील संस्थालाई जोखिममा पारेर सीमित घरपरिवारलाई सुविधा दिन खोजिएको भन्दै उनीहरूले अन्यत्रबाट पहुँचमार्ग व्यवस्थापन गर्न सरकार र स्थानीय तहलाई आग्रह गरेका छन् ।

अस्पताल परिसरमा अहिले नै पार्किङको ठूलो समस्या रहेको, आकस्मिक कक्ष आसपास सवारी व्यवस्थापन कठिन बन्दै गएको र भीड नियन्त्रण चुनौतीपूर्ण रहेको अवस्थामा नयाँ आवतजावत थपिँदा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने उनीहरूको चेतावनी छ । विशेषगरी रातिको समयमा अस्पताल परिसर खुला हुँदा सुरक्षा चुनौती अझ बढ्न सक्ने उनीहरूको भनाइ छ ।

Facebook Comments Box