काठमाडौँ । फिल्म निर्माता, नायक तथा सामाजिक अभियन्ता नवल खड्काले सीमा क्षेत्रका समस्यालाई लिएर दशगजा, भिमदत्त, आवाज लगायतका विभिन्न चलचित्र निर्माण गरिसक्नु भएको छ। र अब अर्को चलचित्र काँडेतार निमार्णको तयारीमा हुनुुहुन्छ। सीमा क्षेत्रका समस्या नजिकबाट नियाल्नु भएका खड्काले सिमानामा काँडेतार अभियान पनि सञ्चालन गर्दै आउनु भएको छ । पछिल्लो समय भारतले नेपाली भू–भागमा नै सडक निर्माण गरेपछि चौतर्फी विरोध भइरहेको छ । यही सन्दर्भमा नायक तथा अभियन्ता नवल खड्कासँग गरिएको कुराकानी :
तपाईंले उठाएको काँडेतार अभियानको सार्थकता बढेर गयो ?
– सिमानामा काँडेतार अभियानको सार्थकता थियो र नै यो अभियानमा सहभागिता बढिरहेको थियो । शुरूवाती अभियानकर्ताको नाताले भन्नुपर्दा, सिमाक्षेत्रमा बारम्बार हुने अपराधिक गतिविधिदेखि सिमाना मिच्ने दिनहुँ घट्ने घटनाक्रमले नै हामीलाई यस अभियानमा लाग्न अभिप्रेरित गरेका थिए । तर, अब भूपू प्रम माधव नेपाल, नेता देव गुरुङ लगायतले समेत सिमानामा काँडेतार लगाउनुपर्ने कुरालाई स्वीकार गर्नुभएको छ । अहिले हरेक देशभक्त नेपालीको मनमा सिमानामा काँडेतार लगाउनै पर्ने ठोस धारणा बनेको छ । यसकारण यो अब हाम्रो मात्र मुद्दा बनेन । जबरजस्त राष्ट्रिय मुद्दाको रूपमा स्थापित भएको छ । ढिलोचाँडो सिमानामा काँडेतार लाग्नेछ ।
लिपुलेकमा बनाइएको सडकलाई कसरी लिनु भएको छ ?
– यो भारतीय विस्तारवादी नीति र हेपाहा तथा मिचाहा प्रवृत्ति हो । यसै प्रवृत्तिले भारतले हाम्रा सीमा मिच्ने र सीमा क्षेत्रका जनतालाई बारबार दुःख दिने गरिरहेको छ । यतिले मात्र नपुगेर नेपाल सरकार र नेपाली जनताले ऐतिहासिक प्रमाणका आधारमा आफ्नो भूमि भनिरहेका स्थानमा बाटो नै बनाउनु साना मुलुकलाई आक्रमण गरेजस्तै हो । यसबाट मेरो मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीको आत्मसम्मानमा चोट लागेको छ ।
सरकारले थाहा पाएर पनि नरोक्नुको भित्री कारण के होला ?
– निश्चय नै वर्तमान सरकारको कमजोरी हो तर यस सरकारको मात्र होइन । यो समस्याको जरो खोज्दा राजा महेन्द्रकै पालादेखिबाट खोज्नु पर्छ । तथापि पञ्चायतको अन्त्यपछि स्वर्गवासी प्रेमसिंह धामीले कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई नेपाली जनताबीच जानकारीमा ल्याउनु भएको थियो । त्यसपछि यसबारे जनताले र कम्युनिस्ट पार्टीका विद्यार्थी र युवाहरुले त्यहाँ पुगी सांकेतिक विरोध गरेका थिए । तर पनि सरकार कहिल्यै गम्भीर भएन । जबजब जनता सडकमा विरोध गर्थे तबतब सरकार र प्रतिपक्ष दलका नेताहरुले कर्मकाण्डी जस्तै भएर विरोध जनाउने गर्दथे । भारत सरकारले नेताहरुको मुटु छाम्दै सडक निर्माण गरिरहेको थियो । एक हिसावले यो म्याच फिक्सिङ नै जस्तो पनि लाग्छ । हामी जनतासँगै विरोध गरेजस्तै गर्छौं, तपाईंहरु बनाउँदै गरे हुन्छ भनेजस्तो लाग्छ । किनकि नक्सा छाप्ने मात्र होइन पूरै भूमि ल्याउने हो भनेर लिम्पियाधुरासहितको नेपालको नक्सा नल्याउनुको कारण के हो ? यो कुरा प्रष्ट हुन बाँकी नै छ । तर प्रष्ट भएको कुरा के हो भने यसो हुनुमा सरकारको निस्क्रियता मात्र होइन, लम्पसारवादी नीति हो । यो विभिन्न कालदेखिकै सरकारहरूको कुटनैतिक असक्षमता, लाचारीपन र दलालीपन हो ।
अब के गर्ने ?
– यसबारे मसँग कुनै त्यस्तो प्रष्ट जवाफ छैन । तर म प्रष्ट छु कि हामी भारतसँग लडाइँ गरेर भूमि फिर्ता गर्न सक्दैनौं । विदेश मामलाका जानकारहरुले विभिन्न विकल्पहरु ल्याइरहनु भएको छ । कसैले कुटनीतिक पहल गर्ने, दुईपक्ष, त्रिपक्ष (चीन, भारत, नेपाल) बीच वार्ता गर्ने, अन्तर्राष्ट्रिय अदालत जाने आदि । जे भएपनि भारतले यस क्षेत्रमा गरेको हस्तक्षेप तुरुन्तै समाधान हुन नसक्ने अवस्था देखिन्छ । यसका लागि हामीले प्रमाणका साथ लामो कुटनैतिक अभियान जारी राख्नु पर्छ । तर मौसमी बाजा बजाएर होइन, यो निरन्तरको अभियान हो । यसका साथै अन्य खुला सिमानामा काँडेतार लगाउने कार्यलाई अगाडि बढाउनु पर्छ ।