कोभिड १९ लाई जसरी महामारी भनिएको छ यो कुनै महामारी नै होइन – लक्ष्मण पन्त

खवर पाटी (खोज खबरको अभियान)

यो कुरा अब ढुक्क साथभन्न सकिन्छ कि कोभिड १९ को बारेमा स्वास्थ्य क्षेत्र, राज्य र सञ्चारमाध्यमको ठूलो लगानीमा जारी प्रचारयुद्धका पछाडि यो रोगबारे जनतालाई सजग र सचेत गराएर उनीहरुलाई कोरोना संक्रमणबाट मुक्त बनाउनु पर्दछ भन्ने उद्देश्य देखिन्न । बरु कोरोनाको नाममा विश्वका जनताको भय दोहन गरेर मुनाफाको व्यापारलाई अगाडि बढाउनु नै यो प्रचारयुद्धका पछाडिको घिनलाग्दो उद्देश्य हो भनेर बुझ्न अब चिकित्सा विज्ञान विशेषज्ञ वा त्यस्तै कुनै ‘ज्ञानी’भई राख्नु पर्दैन ।

पहिलो कुरा त कोभिड १९ लाई जसरी महामारी भनिएको छ यो कुनै महामारी नै होइन । मानिसहरु भटाभट मर्दै जाने र गाउँकागाउँ बस्तीका वस्ती सखाप हँुदै जाने अवस्थालाई मात्र महामारीको अवस्था भन्न सकिन्छ । महामारीबारेको आमजनताको बुझाई यही हो र यो बुझाई सोह्रै आना सही बुझाइ हो । जस्तो विगत एक दुई शताब्दी पहिलेको इतिहासमा हैजा र प्लेग जस्ता रोगहरुबाट लाखौं, करोडौं मानिसहरुको मृत्यु भएको, गाउँ र वस्तीहरु नै रित्तिएको हामीले सुनेका छौं, पढेका छौं । त्यो अवस्था नै आमजनताको बुझाइ मा महामारी हो । चिकित्सा विज्ञानको कोणबाट हेर्दा कोरोनालाई महामारी मान्ने आधार चिकित्सा विशेषज्ञहरुसित वा चिकित्सक समुदाय सित होला । तर, महामारी के हो भन्ने कुरा चिकित्सकहरुले बुझ्नु मात्र पर्याप्त हुँदैन ।

किनकि महामारीे सेतो कोट लगाएर घाँटीमा स्थेटस्कोप भिरेका डक्टरहरुसित जोडिएको विषय मात्र होइन । यो आमजनतासित जोडिएको विषय हो । योसित आर्थिक, सामाजिक, राजनीतिक सबै पाटा र पक्षहरु जोडिएका छन् । यो समाज र सरकारहरुसित त झनै महत्वकासाथ जोडिएको विषय हो । र, महामारीको मुकाबिला सबैको सामुहिक प्रयासबाट मात्र सम्भव हुन्छ । तर, यहाँ भने चिकित्सा जगतबाट कोरोना महामारीको नाममा आतङ्क खडा गर्ने, जनजीवन र आर्थिक जीवन ठप्प बनाइदिने काम भयो ।

डाक्टरहरुले आफ्नो संसारलाई सम्पूर्ण ठान्नु र कोरोनालाई यसका सामाजिक, आर्थिक पाटाहरुको वास्ता नगरिकन महामारी घोषणा गरेर आतङ्क सिर्जना गर्नु सामान्य कुरा मान्न सकिएला । सायद यो चिकित्सा विज्ञान र अन्य भौतिक विज्ञानहरुको सीमा पनि हो कि ती भौतिक विज्ञानहरुको आफ्नै संसार हुन्छ कि ती विज्ञानहरुले सबैभन्दा ठूलो समाजविज्ञानलाई प्रायःध्यानमा राखेको पाइदैंन ।

स्वास्थ्य क्षेत्रलाई अकुत मुनाफाको क्षेत्रमा रुपान्तरण गर्ने माफियाहरुको दबाबमा परेर कोरोनालाई महामारी घोषणा गर्दा यसको विश्वमा समग्र प्रभाव के पर्ला भन्ने समाजशास्त्रीय पक्षलाई डब्लुएचओले नजरअन्दाज गर्नु यसकै परिणाम हो । तर, सरकारहरु पनि डब्लुएचओकै दबावमा परेर कोरोना आतङ्क सिर्जना गर्न लागिपर्नु दुर्भाग्यपूर्ण हो । सामाजिक, आर्थिक जीवन ठप्प पारेर कुनै पनि रोगलाई मानिसले न त आजसम्म जितेको छ न अब जित्न सक्छ भन्ने सामान्य ज्ञान पनि राज्य सञ्चालकहरुमा नहुनु दुर्भाग्यपूर्ण त छदैंछ, यसबाट कोरोना आतङ्कका पछाडि स्वास्थ सामग्री उत्पादनकर्ता र स्वयम् राज्यपक्षकै गम्भीर साँठगाँठ छ भन्ने पनि प्रमाणित भएको छ ।

रोग सर्छ भनेर कोठा भित्र थुनिएर रुँदै बसेर रोगको मुकाबिला हुन सक्तैन । तर, डब्लुएचओ र उसको इशारामा नाचिरहेका विश्वका सरकारहरु भने कोठाभित्रै थुनिएर बस भनेर अचम्मको उर्दी जारी गरिरहेका छन् । भोट वा बटौलीतिर सय पचास वर्ष पहिले नुन तेल लिन पहाडतिरबाट झर्दा बटौलीको गर्मीमा हैजाबाट आक्रान्त भएर आफ्नै समूहका ढाक्रेहरु ढलेको तर त्यसरी हैजाबाट मृत्यु भएका आफ्नै साथीहरुलाई बाटोमै छाडेर आफूहरु नुन तेलको भारी बोकेर आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका दृष्टान्तहरु सुनाउने अझै पनि हाम्रो समाजमा केही वयोवृद्ध हुनुहुन्छ ।

हो, मानवसभ्यता यसरी नै अगाडि बढेको छ । सायद हाम्रा पुर्खाहरु हैजाबाट आफ्ना साथीहरु मरे भनेर आफ्नै घरमा थुनिएर बसेको भएदेखि हाम्रो यात्रा यहाँसम्म आउने थिएन । कोरोनाका नाममा जनजीवन र आर्थिक गतिविधिहरु ठप्प पार्नु र भयको व्यापार गर्नु मानवीय अपराध हो ।

चिकित्सा विज्ञानको मानवजीवन रक्षामा अमूल्य योगदान रहेको छ । तर, कोरोना नियन्त्रण गर्नका लागि भनेर जसरी स्वास्थ्य सामग्रीको युद्ध स्तरमा व्यापार भइरहेको छ । यसबाट अब चिकित्सा विज्ञान पूँजीवादी मुनाफाखोरहरुको नाङ्गो खेल मैदान बन्दैछ भन्ने कुरा प्रष्टसँग देखिएको छ । विगत छ महिनाको अवधिमा औषधिलगायत स्वास्थ्य सामग्री (विशेष गरी कोभिड सम्बन्धी हेल्थप्रोडक्टहरु) उत्पादन गर्ने विश्वका ठूला कम्पनीहरुले पूँजी र मुनाफामा खर्बाै रुपैयाँको वृद्धि भएको कुराले यसै तथ्यलाई औंल्याउँछ । विश्वभरिका सरकारहरुले गत छ महिनामा खरबौं खर्ब डलर कोभिड नियन्त्रणका नाममा खर्च गरिसकेका छन् ।

नेपालमा एकजना कोभिड बिरामीको उपचारमा सालाखाला एक लाखभन्दा बढी खर्च भएको तथ्याङ्क केही महिनापूर्व सार्वजनिक भएको कुरा यहाँ विशेष स्मरणीय छ । यसरी कोभिड स्वास्थ्य क्षेत्रका माफियाका लागि अकुत मुनाफाको माध्यम भएको छ भने विश्वभरिकै भ्रष्ट सरकारहरुका लागि भ्रष्टाचारको एउटा भरपर्दो माध्यम बनेको छ । कोभिड १९ महामारी होइन भन्ने कुरा समाजशास्त्रीय कोणबाट मात्र होइन, चिकित्सा जगतका कतिपय वरिष्ठ र अनुभवी चिकित्सकहरुका भनाइहरुबाट पनि पुष्टि हुन्छ ।
संक्रमण देखिएका मानिसहरुमा लगभग साँढे ९८ प्रतिशत संक्रमितहरुमा केही दिनपछि कोरोना आफै हराएर जान्छ वा पूर्णतःनिको हुन्छ अथवा कोरोना एउटा सामान्य प्रकारको फ्लु हो, यसबाट आत्तिनु पर्ने जरुरी छैन भन्ने प्रसिद्ध चिकित्सकहरुका कथनहरु यस सन्दर्भमा मननीय छन् ।

अब अर्को कोणबाट पनि कथित कोरोना महामारीको पडताल गरौं । कोरोनाको मृत्यु संख्या दर्शाउन बनेको कोरोना वल्र्डमिटर डटकमले २८ सेप्टेम्बरसम्म कोरोनाबाट विश्वभरि मृत्यु हुनेको संख्या १० लाख दुई हजार तीन सय ९९ देखाएको छ । माथिको तथ्याङ्क कोभिड १९ पत्ता लागेको डिसेम्बर २०१९ देखि आज २८ सेप्टेम्बरसम्मको तीन सय दुई दिनको तथ्याङ्क हो । औसत निकाल्दा कोभिडबाट मर्नेहरुको सालाखाला संख्या प्रतिदिन तीन हजार तीन सय २९ हुन आउँछ ।

जबकि विश्वमा मुटु वा मुटु सम्बन्धी रोगहरुबाट दैनिक ४८ हजार सात सय ४२ जना मर्दछन् भने जो सबैभन्दा ठूलो संख्या हो । दोस्रोमा सबैभन्दा बढी क्यान्सरबाट २६ हजार एक सय ८१ जना मर्दछन् । वर्षेनी १३ लाख ५० हजार मानिस सडक दुर्घटनाबाट मर्छन । नेपालमा यो वर्षको वर्षायाममा तीन महिनाभित्रै बाढी र पहिरोबाट मात्र तीन सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने सडक दुर्घटनामा गत छ महिनामा ज्यान गुमाउनेहरु एक हजारभन्दा बढी छन् । कोरोनाबाट गत छ महिनामा चार सय ७७ मृत्यु भनिएको छ तर कोरोनाबाट नै भएको हो वा अरु कुनै कारणबाट भन्नेमा पनि चिकित्सकहरुमा तीव्र विवाद छ नेपालमा र विश्वस्तरमै ।

कोरोनो आतङ्क खडा गर्नुका पछाडि एउटा निश्चित अर्थराजनीतिले काम गरेको छ । कोरोना नियन्त्रणका लागि खोपको खोजीमा, स्वास्थ्य सामग्री निर्माणमा ठूलो मुनाफाको अवसर छ । खोपको खोजीका लागि अहिले संसारमा हजारौं वैज्ञानिक जुटेका छन् । खर्बौको लगानी त्यता डाइभर्ट भएको छ । बिल गेटदेखि विश्वका ठूलठूला खर्बपतिहरुको नजर त्यो खोप बेचेर हुन सक्ने अकल्पनीय मुनाफातिर छ । त्यसैले उनले भनेका छन्, यो कोरोना अझै दुई वर्ष नियन्त्रणमा आउँन सक्तैन । किनभने कोरोना भयको व्यापार गरे मात्र उनको खोपले अकुत मुनाफा दिन सक्छ । विश्व स्वास्थ्य संगठनमा कोरोनाका लागि ठूलो बजेट ओइरिएको छ । विश्वका सरकारहरुलाई स्वास्थ्य संगठनले अरबौंको बजट खन्याएको छ । सरकारका मातहतका स्वास्थ्य मन्त्रालयका हाकिमहरु हजारौं अस्पताल मुनाफाखोर चिकित्सकहरुको टोली अर्थात् सबैलाई दशैं आएको छ कोरोनाका कारण ।

तर, इमान्दार डक्टर नर्स र स्वास्थ्यकर्मीहरु भने बलीको बोका बनाइएका छन् । सरकारी कर्मचारी र प्रशासकहरुले आरामसित कोरोना नियन्त्रणका नाममा बसीबसी तलब त लिएका छन् नै भ्रष्टाचार गर्ने अवसर पनि कोरोनाले जुटाई दिएको छ । कोरोनाको समाचार दिएबापत अखबार टिभी अनलाइनहरुको दर्शक पाठक संख्या बढ्दो छ । कोरोना एउटा मसला भएको छ मिडियाका लागि । दर्शक र पाठक संख्या बढाएर विज्ञापनबाट आयवृद्धि गर्नका लागि कोरोना एउटा राम्रो अवसर भएको छ । समग्रमा कोरोना एउटा मुनाफाको व्यापार बनेको छ । त्यसैले यो नेक्ससलाई भण्डाफोर गर्नु र आर्थिक र सामाजिक जनजीवन सुचारु गर्नेतिर सबै राजनीतिक र सामाजिक संघ संस्थाहरु एकजुट हुनु यतिखेरको सर्वाधिक महत्वको कार्यभार हो ।

  • लक्ष्मण पन्त / झिल्को
Facebook Comments Box