काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी सरुवा पुरानो संशोधन गर्दै नयाँ मापदण्ड बनाएको छ ।
२०६९ मा जारी प्रहरी कर्मचारीको सरुवा मापदण्ड संशोधन गर्दै नयाँ बनाइएको हो ।
नयाँ सरुवा मापदण्डअनुसार कुनै पनि प्रहरी कर्मचारीको एक ठाउँमा सरुवा भएर गएपछि एक वर्षपछि मात्रै अन्यत्र सरुवा हुने छ । प्रहरी महानिरीक्षक सचिवालयका अनुसार आर्थिक अनियमितता वा आचरणविपरितका काम तथा अन्य विवादमा मुछिएमा भने एक वर्ष नपुग्दै सरुवा गरिने छ ।
यसैगरी, दरबन्दीमा एक वर्ष काम नगरेका र अवकासमा जान एक वर्षभन्दा कम समय बाँकी प्रहरी अधिकृत पनि अब प्रहरी कार्यालयको नेतृत्व हा“क्न अर्थात् इन्चार्ज बन्न पाउने छैनन् ।
त्यस्तै, निलम्बनमा परेर पुनर्वहाली अधिकृतले पनि एक वर्ष नपुगेसम्म इन्चार्ज हुन पाउँदैनन् । तीन ठाउँमा इन्चार्ज चलाइसकेका प्रहरी निरीक्षक र डीएसपीले समेत पुनः इन्चार्ज बन्न पाउने छैनन् ।
त्यस्तै कारबाही भोगेका अधिकृतले पनि एक वर्षसम्म इन्चार्ज हुन पाउँदैनन् भने युएन मिसनबाट फर्केका र भर्खरै तालिम सकाएका प्रहरी निरीक्षकले समेत एक वर्षसम्म इन्चार्ज बन्न पाउने छैनन् । उनीहरूले सम्बन्धित प्रहरी कार्यालयमा सहायक भएर काम गरेपछि मात्र इन्चार्ज हुने अवसर पाउने छन् ।
नयाँ सरुवा मापदण्डअनुसार जिल्ला नेतृत्व सम्हालेका डीएसपी र एसपीले पुनः अर्को जिल्लामा सरुवा भएर जाँदा नेतृत्व पाउने छैनन् । त्यस्तै, बढुवा हुनेबित्तिकै इन्चार्ज बन्न रोक लगाइएको छ । प्रहरी उपरीक्षक (एसपी) संख्या कम भएका कारण एसपीको हकमा प्रहरी प्रधान कार्यालयले बढुवा अवधि नहेर्ने नीति लिएको छ ।
मापदण्डमा जागिर अन्त्यतिर पुगेका अधिकृतलाई पनि कमाण्ड नदिने भनिएको छ । सेवा प्रवाहमा समस्या हुनसक्ने भन्दै सरुवा मापदण्डमा यस्तो व्यवस्था गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका एक अधिकृतले जानकारी दिए ।