बुटवल । प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्किएको छ । आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार सूचना जारी गरी बुटवलमा चार दिन निषेधाज्ञा घोषणा गरेको छ । आइतबार बिहान ६ बजेदेखि २१ असोज बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
यो अवधिमा सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँचजनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भई हिँडडुल गर्न पनि नपाइने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।
प्रदेश राजधानी दाङ प्रस्ताव गरिएको विरोधमा शनिबार पनि बुटवलमा प्रदर्शन भएको छ । रुपन्देहीमा आन्दोलन चर्काउन नेपाली कांग्रेसले जिल्ला बन्दको कार्यक्रम घोषणा गरेको छ । शनिबार साँझ विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
राजधानीको विषयमा छलफल गर्न शनिबार बुटवलमा बसेको नेकपा संसदीय दलको बैठकमा १४ सांसदले असहमति जनाएका छन् । उनीहरूले प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थानीय राजधानी बनाउनुपर्ने जिकिर गरेका छन् ।