सिंहदरबार बाहिर पर्खालसँगै चारैतर्फ बिजुली र सोलारजडित तर ७५ पोलमा बत्ती बल्दैनन्

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सिंहदरबार बाहिर पर्खालसँगै चारैतर्फ बिजुली र सोलारजडित गरी १ सय ६ वटा पोल गाडिएका छन् । त्यसमध्ये ३१ पोलमा बत्ती बल्छन्, ७५ पोलमा बल्दैनन् । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा बुधबार राति ११ बजेको घटनाक्रम हो यो ।

सिंहदरबारको भद्रकालीतर्फ फर्किएको मूल गेट आसपासमा ५ वटा पोल छन् तर मूल गेटका एउटै पोलमा बत्ती बल्दैनन् । मूल गेटतर्फबाट पुतली सडकतर्फ १३ वटा पोल ठडिएका छन्, ती पोलमा बत्तीको उज्यालो देखिँदैन । मूल गेटतर्फबाटै सर्वोच्च अदालत हुँदै माइतीघरतर्फ जाँदा समेत सर्वोच्च अदालतअघि बाहेकका सात वटा पोलमा बत्ती बल्दैनन् ।

माइतीघर तर्फबाट दक्षिण गेटतर्फका ११ पोलको हालत पनि उस्तै छ । दक्षिण गेटको मूल गेटमा मात्रै उज्यालो छ । सोही गेटबाट हनुमानस्थान तर्फका ६ वटा पोल र हनुमान स्थानबाट पूर्वी गेटतर्फका १२ पोलसहित त्यहाँबाट अनामनगरसम्मका ८ वटा पोलमा बत्ती छन् तर बल्दैनन् । अनामनगरदेखि पुतली सडकसम्मका १३ वटा पोलमा पनि बत्तीको उज्यालो देखिँदैन ।

विद्युत् प्राधिकरण भन्छ– महानगरको काम
महानगर भन्छ– प्राधिकरणको काम

देशको मुख्य प्रशासनिक केन्द्रको मूल गेट र चारैतर्फका पर्खालअघिको यो हालत छ भने काठमाडौंका मुख्य सडक, भित्री सडक र देशका अन्य स्थानको अनुमान गर्नै पर्दैन ।

सिंहदरबार अन्धकार हुँदा सुरक्षाका दृष्टिकोणबाट समेत गम्भीर प्रश्न उब्जिएको छ । किनकि मूल गेटसहित सिंहदरबार आसपास थुप्रै सीसीटीभी क्यामेरा जडान गरिएको छ । त्यहाँ उज्यालो छैन ।

सिंहदरबार आसपासको रात्रिकालीन अनुगमनपछि हामीले विद्युत् प्राधिकरण र काठमाडौं महानगरलाई सोध्यौं, ‘सिंहदरबार बाहिर सडकमा बिजुली बत्ती बाल्ने काम कसको ?’

तर, दुवै निकाय जिम्मेवारीबाट पन्छिन खोजे । विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले सडक बत्तीको काम महानगरको जिम्मेवारीभित्र पर्ने बताए ।

‘सडकबत्तीको रेखदेख र बिजुली बले नबलेको हेर्ने काम हाम्रो जिम्मेवारीभित्र पर्दैन, महानगरअन्तर्गतको निकायले हेर्नुपर्ने हो । हामी लाइन गएको नगएको मात्रै हेर्छाैं,’ विद्युत् प्राधिकरणका प्रवक्ता तिमल्सिनाले राजधानीसँग भने ।

तर, काठमाडौं महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागले भने सिंहदरबार आसपासको बत्तीको काम आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बतायो । विभागका प्रमुख राम थापाले सहरभित्रको बस्तिका बत्तीको काम मात्रै महानगरको क्षेत्राधिकारभित्र पर्ने तर मुख्य सडकको जिम्मेवारी महानगरको नरहेको जानकारी दिए ।

‘महानगरको कार्य क्षेत्र बस्तीभित्रको हो, मेन रोडमा प्राधिकरणकै रोल हुन्छ, मेन रोडमा पोल गाड्ने बत्ती राख्ने हाम्रो क्षेत्राधिकार भित्र पर्दैन,’ महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका प्रमुख थापाले भने ।

तर, प्राधिकरणले महानगरलाई आग्रह गरेमा भने महानगरले नै सिंहदरबार आसपास बत्ती हाल्ने थापाले प्रतिक्रिया दिए । ‘प्राधिकरणले कि त हामीलाई राख्देऊ भनेर आग्रह गर्नुप¥यो, त्यसरी आग्रह भए हाल्न सकिन्छ,’ थापाले थपे ।

विद्युत् महसुलको जुहारी
बिजुली बत्ती र त्यसको महसुलका विषयमा नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच लामो समयदेखि जुहारी चल्दै आएको छ । विद्युत् प्राधिकरणका एक उच्च अधिकारीका अनुसार महानगरपालिकाले विद्युत् महसुलबापतको करिब ३ अर्ब हाराहारी रकम प्राधिकरणलाई तिर्न बाँकी छ ।

तर, महानगरपालिकाले भने विद्युत् प्राधिकरणले गर्नुपर्ने धेरै काम महानगरले गर्दै आइरहेको, प्राधिकरणले सडकमा पोल राखेबापतको कर, भवन तथा सम्पत्तिबापतको तिर्नुपर्ने कर नतिरेको र उल्टै अनावश्क शुल्कको भार महानगरलाई देखाएको बताउँदै आइरहेको छ ।

‘सडकमा पोल पनि महानगरले गाड्नुपर्ने, बिजुली पनि महानगरले बाल्नुपर्ने, पोल राखेबापतको कर प्राधिकरणले नतिर्ने, सम्पत्ति कर नतिर्ने अनि अनावश्क चुहावटको शुल्क पनि महानगरको नाममा देखाउने ?’ काठमाडौं महानगरपालिकाका एक उच्च अधिकारीले भने ।

ती अधिकारीले महानगरले आफूले उपभोग गरेको बिजुलीको शुल्क भने तिर्न तयार रहेको र त्यसको आँकडा प्राधिकरणले देखाउनुपर्ने बताए । सो विषयमा काठमाडौं महानगरपालिका र विद्युत् प्राधिकरणबीच पटक पटक छलफलसमेत भएको बताइन्छ । केही समयअघि विद्युत् महसुलको विवाद बढेपछि सरकारले नै काठमाडौं महानगरको शुल्क तिर्ने बताएको थियो । तर, अहिलेसम्म प्राधिकरणले सो शुल्क पाएको छैन ।  राजधानीबाट

Facebook Comments Box