सरकारका लागि गठबन्धन आवश्यक छ : प्रधानमन्त्री देउवा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने र सरकारका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । सत्ता गठबन्धन दलबीच गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको समेत उहाँले बताउनुभयो ।

‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? तपाईहरुलाई थाहै छ ।’

प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको र अहिले गठबन्धनका सरकार हुँदा निर्वाचन लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि गठबन्धनको सरकार रहिरहने बताउनुभयो ।

विकासका लागि एमसीसी आवश्यक छ

प्रधानमन्त्री देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने जानकारी दिनुभयो । उहाँले गठबन्धनसँग मिलेर निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलसँग छलफल चलिरहेको बताउनुभयो ।

२०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको समेत बताउनुभयो ।

विभिन्न दल परित्याग गरी कांग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु)लगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले कांग्रेस पार्टीमा स्वागत गर्नुभएको छ ।

कांग्रेस पर्साका नवनिर्वाचित अध्यक्ष जनारधनसिंह क्षेत्रीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, संविधानसभा सदस्य अनिल रुङ्गटा, प्रतिनिधिसभाका पूर्वसदस्य सुरेन्द्र चौधरीलगायतले आउने तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत हासिल गर्ने दाबी गर्नुभएको थियो ।

गोरखापत्र मा प्रकाशित

Facebook Comments Box