जनताले गर्ने निर्णय मान्न तयार छौं : श्रवणकुमार नेपाली गौतम

खवर पाटी (खोज खबरको अभियान)
श्रवणकुमार नेपाली गौतम केन्द्रीय सदस्य, राप्रपा नेपाल

मुलुकको राजनीतिक अवस्थालाई कसरी लिनुभएको छ ?
मुलुक जनचाहना अनुरुप अघि बढेको देखिदैन । प्रमुख दलहरु सत्ता स्वार्थमा केन्द्रित छन् । देशमा भ्रष्टाचार बढिरहेको देखिन्छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका अस्तव्यस्त छ । जनताले दुःख झेल्नु परिरहेको छ । सरसर्ती हेर्दा सरकार लिकमा छैन । काँग्रेस होस या कम्युनिष्ट, प्रमुख दलहरुका नेताहरु कसरी धनि होइन्छ भनेर लागेको देखिन्छ ।
वर्तमान सरकारको क्रियाकलापलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
सर्व प्रथम काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकार जनादेशबाट आएको होइन, सर्वाेच्च अदालतको परमादेशबाट आएको हो । कम्युनिष्टहरुले आफ्नो दुई तिहाईको सरकार राम्ररी संचालन गर्न नसकेर काँग्रेसलाई एक पक्षले गुहार्न पुगे । यो अवस्थामा जनताले नयाँ चेहराको आवश्यकता महशुस गर्नु स्वभाविक नै हो । नेपालमा बेला बेलामा परिवर्तन हुँदै अएको छ, अब पनि परिवर्तन नहोला भन्न सकिन्न ? विकल्पमा पुरानो इतिहास हेर्दा अहिलेको राजनीतिक परिवेशलाई हेर्दा सारा जनताहरु अहिलेको विकल्प खोजिरहेका छन् ।
कमल थापाले राप्रपा छोडेर राप्रपा नेपाल ब्यूताउनुको प्रमुख कारण के के हुन् ?
नेपालको राजनीतिमा पार्टी फुट्नु, पार्टी जुट्नु, केही सन्तुष्ट हुनु, कोही असन्तुष्ट हुनु, कोही आफ्नो अभिष्ट पुरा गर्न मात्र राजनीतिमा लागेको देखिन्छ ।
यसै मेसोमा कमल थापाले राप्रपा छोडेर राप्रपा नेपाल घोषणा गर्नु भयो । यहि राजनीतिक प्रक्रियाको एक पाटो यो पनि हो । उहाँले उठाउनु भएको मुख्य भाग पार्टीबाट पुरा नहुने भएपछि राप्रपा छोड्नु भएको हो । विगतको राप्रपा नेपालले आफ्नो एजेण्डा स्थापित गर्न ३१ वर्षको अन्तरालमा पार्टीलाई चौथो शक्तिको रुपमा स्थापित गरी मुलुकलाई नयाँ मोड लिने अवस्थामा पु¥याउनु भएको थियो र अहिले पार्टी फुट्न पुग्यो । यो सबैको लागि आघात पुगेको छ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे तपाईको दृष्टिकोण बताइदिनुस् न ?
एमसिसी राष्ट्रको पक्षमा छ भने ठिक हो, राम्रो हो । होइन राष्ट्र हित विपरित छ भने एमसिसीले आघात पार्छ ।
राजसंस्थाबारेमा यहाँको दृष्टिकोण राख्नु न ?
राजा सबैको साझा, राजनीति भन्दा राजा माथि हो । मुलुकको अभिभावकत्व ग्रहण गर्ने राजसंस्था हो । कसैले पनि कुनै कोणबाट पनि जोड घटाउ अंक गणित गर्न नमिल्ने पवित्र संस्था राजसंस्था हो । आज पनि मुलुक र नेपाली जनताले अभिभावकको रुपमा मान्दै आइराखेका छन् । यस विषयमा जनताले गर्ने निर्णय हामी मान्न तयार छौं ।
देशव्यापी भइरहेको महँगीलाई यहाँले कसरी हेर्नु भएको छ ?
महँगी प्रत्यक्ष रुपमा, अप्रत्यक्ष रुपमा बढ्ने स्वभाविक प्रक्रिया हो तर हाम्रो मुलुकमा अस्वभाविक रुपबाट वृद्धि भएको महँगाई नियन्त्रण गर्न जनताले कुनै आधार पाएका छैनन् । यो सम्पूर्ण दोष कमजोर राज्य सत्ता संचालन गर्ने पार्टी विशेषको हो ।

Facebook Comments Box