देशभरका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न सरकारको आग्रह

समाचार
खवर पाटी (खोज खबरको अभियान)

सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । कार्यदलका संयोजक रहेका गृहमन्त्रालयका सहसचिव डा.भिष्मकुमार भुसालले एक सूचना प्रकाशन गर्दै मिटरव्याज पीडितलाई तथ्य प्रमाण सहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गर्दै सरकारले कार्यदल गठन गरेको एकघण्टा भित्रै काम प्रारम्भ गरेको जानकारी गराएका छन् । 

कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएका मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता गरेको भुसालले जनाएका छन् ।

उनले मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको बिचल्ली भएका समाचारहरू सार्वजनिक भैरहेको उल्लेख गर्दै  त्यस्ता आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारवाही गर्ने प्रकृया पनि चलिरहेको  बताएका छन् । अझै पनि धेरै पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था रहेको भन्दै उनीहरुलाई एक साताभित्र उजुरी गर्न आग्रह गरिएको छ ।

हाल काठमाडौंको माइतीघर मण्डलामा नवलपरासीबाट आएका मिटर व्याज पीडितहरुले धर्ना दिएका थिए । नवलपरासीमा मात्र नभै तराईका अधिकांश जिल्लाहरूबाट समेत गुनासो प्राप्त भएको र देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी देशैभरका मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध उजुरी मागिएको डा.भुसालले बताएका छन् ।

मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *