काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७०/८० सिटको लागि कांग्रेसले कसैसँग गठबन्धन गर्न नपर्ने बताएका छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँटमा पेचिलो बन्दै गइरहेको बेलामा मोरङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सय सिटभन्दा तल लिए पार्टीमा विद्रोह हुने चेतावनी दिएका हुन्।
उनले भने, ‘गठबन्धनबाट चुनावमा जाने पार्टीको निर्णय भएपछि हामीले सय सिटभन्दा कममा उम्मेदवारी दिन मिल्दैन। हाम्रो सभापतिजी सहितका नेताहरू सिट बाँडफाँटको काममा जुटिराख्नभएको छ। हामीलाई ७०/८० सिट जित्न गठबन्धन आवश्यक छैन।’
एकल बहुमतसहित आफ्नो पार्टी नेतृत्वको सरकार गठन गर्ने पार्टीको केन्द्रीय समितिको निर्णय भएकाले सिट बाँडफाँटमा समेत हुनुपर्ने बताए। उनले कांग्रेस एक्लैले जितेका प्रतिनिधिसभा र प्रदेशसभामा छाड्न नसक्ने प्रष्ट पारे।
त्यसबारे आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भनिसकेको सुनाए। आफूहरूको भनाइलाई बेवास्ता गरेर सभापतिले निर्णय गरे पार्टीमा विद्रोह हुनसक्ने उनको भनाइ छ।
अहिले गठबन्धनमा सिट बाँडफाँटको लागि शीर्ष नेताहरूले प्रयास गरिरहेका छन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले हैसियतभन्दा धेरै सिटमा दाबी गरेपछि मिल्न सकेको छैन।
प्रचण्डले १६५ सिटको कांग्रेसलाई आधा आधाको प्रस्ताव गरेका छन् भने माधव नेपालले ७० सिटभन्दा धेरै दिन नसक्ने अडानमा छन्। यता, मधेश केन्द्रित दल जसपाले पनि सम्मानजनक ढंगबाट सिट बाँडफाँट नभए एक्लै चुनावमा जाने चेतावनी दिइसकेको छ।