यसवर्षको बडादशैं घर आँगनमा आइसकेको छ । बडादशैं नेपालीहरुको महान् पर्वा हो । वर्षभरीको दुख कष्ट भुलेर दशैं जसरी पनि घर परिवार र आफन्तसँग सँगै मनाउने हाम्रो संस्कृति र परम्परा रहीआएको छ । यो परम्पराले दशैं पर्वालाई नेपालीहरुको एउटा विशिष्ट पर्व नै बनाएको छ । दशैंको अर्को सांस्कृति र धार्मिम महत्व भनेको नवरात्र अर्थात् दुर्गा पुजा पनि हो । नवरात्रभर विभिन्न नौ वटा देवीहरुको पुजाआजा गरी बली चढाएर दशैं पर्व मनाउने प्रचलन छ । दशैं असत्य माथि सत्यको विजय भएको पर्व हो । मैषाशुर जस्तो राक्षशको तेजोवध गरेर संसारलाई असत्यको कालो छायाँबाट दुर्गाभवानीले विजय गराएको कारण दशैंलाई विजयादशमी भनिएको हो ।
अहिले नेपालको अवस्था यस्तै कालो बादल छाएको छ । कुसंस्कार, असत्य अर्थात भ्रष्टाचार, अराजकता, महँगी जस्ता समस्याहरुले मुलुकलाई थिलथिलो पारेको छ । लाखौं नेपाली युवाहरु विदेशी भूमिमा गएर श्रम बेच्न बाध्य भएका छन् । तिनै युवाले पठाएको रकम रेमिट्यान्सको नाममा मुलुकको अर्थतन्त्र धान्ने एक मात्र मुख्य श्रोत बनेको अवस्था छ । यि सवै बेथितिपूर्ण अवस्थाले मुलुकलाई निरन्तर अन्धकारको खाडल तर्फ लगिरहेको छ । यो गम्भीर र अप्ठेरो परिस्थितिबाट मुलुकलाई कसरी उतार्ने भन्ने अहिलेको मुख्य समस्या हो ।
आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ । कुनै पनि देशको अग्रगामी परिवर्तनको लागि राजनीतिक नेतृत्व र नीति सक्षम र योग्य हुनै पर्दछ । लोकतान्त्रिक व्यवस्था कायम रहेको अवस्थामा अब यसलाई सुचारु गर्ने योग्य नेतृत्व आवश्यक भइसकेको विद्यमान राजनीति अवस्थाले स्पष्ट देखाएकै छ । संविधान सभाबाट संविधान निर्माण भएपछिका राजनीतिक अवस्थालाई मात्र हेर्ने हो भने पनि नेपालको अवस्था ज्यादै खराब देखिएको छ । अबको मुलुकको परिवर्तन भनेको नयाँ नेतृत्वको हो । त्यसैले आगामि निर्वाचनमा सक्षम र नयाँ नेतृत्वको चयन गर्ने जिम्मेवारी जनताको हातमा छ । यो विजयादशमीको अवसरमा ति मुलुकका तमाम सवै समस्या र अराजकतालाई पराजित गरेर नयाँ नौलो विहानीको शुरु गर्नु पर्दछ । यस वर्षको विजायादशमीले मुलुकको असत्य पराजित भई सत्य र सुनौलो भविष्यको खाका कोर्न सक्षम नेतृत्वको चयन तर्फ अग्रसर हुन सकियोस ।