संकटपूर्ण आर्थिक अवस्थालाई अर्थ मन्त्रीले सुधार गरुन

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

देशको अर्थतन्त्र संकटउन्मुख देखिएको छ । केही समययता अर्थतन्त्रका महत्वपूर्ण आँकडाहरू अपेक्षाकृत रुपमा सकारात्मक देखिन सकेका छैनन् । यसले देशको आर्थिक अवस्थालाई लिएर जनमानसमा चासो र चिन्ता उत्पन्न गराएको देखिन्छ । बैंकहरू पैसा नभएर मागअनुरूप ऋण दिने अवस्थामा छैनन् । विदेशी मुद्रा सञ्चिति करिव छ–सात महिनाको आयात धान्न सक्ने स्थितिमा आइपुगेको छ । देशमा आयातको अवस्था उच्च विन्दूमा पुगेको छ भने निर्यातको अवस्था न्युन जत्तिकै छ । विगतमा लगातार बढेको रेमिटेन्स आम्दानी पनि स्थिर रहँदै आएको देखिन्छ । कुनै कुनै महिना त रेमिटेन्स वृद्धिदर समेत घट्ने गरेको अवस्था छ । आर्थिक संकट समाधान गर्न केही महिना अघि सरकारले आयातमा कडाइ गरिएकाले पछिल्लो अवस्थामा विदेशी मुद्रा सञ्चिति बढेर झिनो आशा पलाएको अवस्था हो । तर व्यावसायिक र वित्तिय क्षेत्र अझै सुधार हुन सकेको छैन । भूकम्पबाट ओरालो लाग्न शुरु गरेको अर्थतन्त्र कोरोना महामारी र विगत एक वर्षदेखि चलिरहेको रुस र युक्रेन युद्ध जस्ता आन्तरिक तथा बाह्य परिस्थितिहरुका कारण नेपालको अर्थतन्त्र क्रमश संकटउन्मुख बन्दै गइरहेको विद्यमान अवस्था देखिन्छ । पछिल्लो केही महिना यताको वित्तीय अवस्थामा झिनो सुधार आएकाले केही राहत मिल्ने आँकलन गरिएपनि चिन्ताजनक अवस्था समाधान भइसकेको छैन ।

पछिल्लो पटक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्दा अर्थतन्त्र लयमा फर्कने र अर्थतन्त्रले सकारात्मक बाटो लिने तर्फ अपेक्षा भने गरिएको छ । विदेशी विनिमय सञ्चिति रु १४ खर्ब नजिक पुगेको छ । व्यापार घाटा १८ दशमलव सात प्रतिशतले घटेको र ‘रेमिट्यान्स’ २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । पुस मसान्तमा रू ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै रु ३६ अर्ब ११ करोडले वृद्धि भएको छ । अमेरिकी डलरमा शोधनान्तर बचत रु १ अर्ब १ करोड छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब तीन करोडले घाटामा थियो । शोधनान्तर स्थितिमा मात्रै नभई चालु आवमा चालु खाता घाटामा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको सात महिनामा चार खर्ब ११ अर्ब ३४ करोड रहेको शोधनान्तर घाटा चालु आवको सोही अवधिमा २९ अर्ब ६४ करोडले मात्रै घाटामा छ । माघमा मात्रै रु १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ भने चालु आवको सात महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ । आयातमा संकुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको हो । चालु आव २०७९÷८० को सुरुको दुई महिना साउन र भदौमा घाटामा रहेको शोधनान्तर स्थिति असोजपछि भने लगातार बचतमा देखिन्छ । आर्थिक वर्षको सात महिना सकिँदा माघमा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब २१ करोड पुगेको स्थिति छ । तर मुलुकको समग्र आर्थिक परिस्थिति मूल्यांकन गर्ने हो भने उत्साहजनक अवस्था अझै देखिंदैन । देशको अर्थतन्त्र संकटउन्मुख कै अवस्थामा विद्यमान छ । चालु आवको सात महिनामा नेपालले रु ९३ अर्ब ४३ करोड बराबरको वस्तु निर्यात गर्दै गर्दा सोही अवधिमा रु नौ खर्ब १९ अर्ब १७ करोड बराबरको वस्तु तथा सेवा आयात गरेको तथ्याङ्कबाट यो कुरा स्पष्ट देखिन्छ ।

आम निर्वाचन अघि देखिएको राजनीतिक अस्थिरताको निकास दिन निर्वाचन पछि बलियो सरकार गठन हुन नसक्दा पनि यसको असर अर्थतन्त्रमा परिरहेको छ । निर्वाचनमा कुनैपनि दलले बहुमत हासिल गर्न नसक्दा सरकार निर्माणमा अर्को संकटपूर्ण अवस्था देखिएको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अब विद्यमान आर्थिक संकट समाधान गर्ने जिम्मेवारी डा. महतले पुरागर्न सकुन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *