विमान दुर्घटनाबाट पाठ सिकौ, अवको दिनमा कुनै घटना नघटोस्

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

आइतबार भएको यती यरलाईन्सको विमान दुर्घटनामा परेका ६८ जना यात्रुको शव भेटिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी अहिलेसम्म विमानमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा ५३ जना नेपाली, पाँच भारतीय, चार रसियन, अस्ट्रेलिन एक, अर्जेन्टिनी १, कोरियन, २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चारजना चालक दलका सदस्य रहेका थिए । पोखरा विमानस्थलदेखि २ किलोमिटर वरै सेतीको खोंचमा विमान खसेको थियो । अहिलेसम्म यती एयरलाइन्स र यसकै अर्को सहायक कम्पनी तारा एयर गरी सन् २००४ देखि हालसम्म सातवटा विमान दुर्घटनामा परिसकेका छन् । यसमध्ये तारा एयरको कूल पाँचवटा विमान दुर्घटनामा परेका थिए, जसमध्ये तीनवटा मृत्युदायी दुर्घटना थिए । काठमाडौंबाट लुक्लाका लागि उडेको यती एयरलाइन्सको ट्वीनअटर जहाज २५ मे २००४ मा दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । त्यस्तै सन् २००६ को २१ जूनमा यती एयरलाइन्सकै ट्वीनअटर जुम्ला विमानस्थलमा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित नौजनाको ज्यान गएको थियो । अवतरणका क्रममा यती एयरलाइन्सको विमान सन् २००८ को अक्टोबरमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । तारा एयरको ट्वीनअटर ओखलढुंगाको मानेडाँडामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । ताराकै जहाज सन् २०१६ को २४ फेब्रुअरीमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो ।

विमान दुर्घटनाका यी शृंखलाहरुले यो कम्पनीको हवाई उडान सुरक्षा, विश्वसनीयता, गुणस्तरीयता, व्यवस्थापन लगायत थुप्रै विषयमा प्रश्न उठाएको छ । यस्तै विभान दुर्घटनाको श्रृंखलाले विमान उडनमा नेपाली आकाश असुरक्षित रहेको समेत सन्देश गइरहेको छ । कुनै पनि जहाज सही तवरले उडान भर्न र अवतरण गर्न मौसम, उपकरण, सञ्चार, नियमन आदिलगायत सबै पक्षको एकसाथ सहयोग चाहिन्छ । कुनै एक पक्षको मात्र गल्ती वा कमजोरीले घातक दुर्घटना निम्तिन सक्छ । नेपालको सन्दर्भमा विमान संचालन र उडनको नियमन अति कमजोर देखिन्छ । त्यही भएर हाम्रो उडानलाई युरोपियन युनियनलगायत आइकाओले कालो सूचीमा राखेको थियो । कालोसूचीमा राखेर विश्वका सामू नेपालको हवाई यात्रा असुरक्षित छ भन्ने सन्देश गइरहँदा पनि कुनै पनि दलका सरकारले यस्तो कालोसूचीबाट हट्न गर्नुपर्ने सुधारका कामहरु गरेको छैन । विमान दुर्घटना हुन्छ अनि आयोग बन्छ । अनि हरेक आयोगले दोष मृतक विमानचालक माथि लगाउने गर्छ । त्यसपछि अर्को विमान दुर्घटना नभएसम्म यसखाले विषय र मुद्दाले चर्चासमेत पाउँदैन । जहाजको अवस्था ठीक थियो वा थिएन वा भन्ने विषय सधै महत्वपूर्ण हुन्छ । यती एयरलाइन्सको आइतबार भएको विमान दुर्घटनाको प्राविधिक छानबिन त हुनेछ । तर त्यति धेरै मानिसको मृत्यु भइसकेपछि छानबिन गरेर मात्र उनीहरुको जीवन फर्कने होइन । पटक–पटक हुने दुर्घटनाबाट नेपालले कहिल्यै पाठ सिकेन भन्ने गुनासो विदेशीहरुले समेत गर्दै आइरहेका हुन् ।

नेपालको भौगोलिक जटिलता आफैमा चुनौतीपूर्ण छ । त्यसमाथि अनिवार्य रुपमा अपनाउनुपर्ने सजगता, पालन गर्नै पर्ने उड्डयनका नियमहरु, नियमनकारी ​निकायले गर्नुपर्ने कामहरु उपेक्षित हुँदा अक्सर विमान दुर्घटनामा परिरहेका छन् । आगामी दिनमा कुनै पनि विमान दुर्घटना हुन नदिन उड्डयन क्षेत्रको समस्त सुधार कार्य जरुरी देखिन्छ । पुनः यस्तो कहिल्यै नहोस् । छानबिन आयोगले पनि मृतक चालक दलका सदस्यलाई मात्र दोषी देखाउने प्रवृत्ति त्यागेर यथार्थ कुरा के हो सार्वजनिक गर्नुपर्छ आवश्यक छ। यो दु्र्घटनामा कसको लापर्वाही भएको थियो, त्यसलाई उजागर गरी दोषी उपर कारबाही हुनैपर्छ । यस दुखद घटनामा परी ज्यान गुमाएकाहरुप्रति हामी हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै यस दुःखको घडीमा मृतकका परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दर्छौं।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *