शताब्दीपुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गरेका वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ।

पारिवारिक सहमतिअनुसार स्व. जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्रसम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो।

अस्पतालका निर्देशक प्रा डा. सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने राससलाई जानकारी दिए।

उनले भने, ‘अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षित रूपमा ‘प्रिजर्भ’ गरिएको छ। ‘प्रोफेसर’को भनाइअनुसार उहाँको शरीरलाई चिरकालसम्म कुनै पनि तत्वले बिगार्न सक्दैन। उहाँको शरीरबाट चिकित्सा प्रणालीअनुरूप कसरी ज्ञान र सिप लिन सकिन्छ, त्यो आर्जन गर्नेछौँ।’

जोशीको पार्थिव शरीरलाई परिवारले किष्ट शिक्षण अस्पताललाई पूर्ण रूपमा हस्तान्तरण गरेको छ। ‘चिकित्सा प्रणालीअनुरूप के–के गर्नुपर्ने हो, शरीरको कुन भागको अध्ययन अन्वेषण गर्ने र उनको शरीरलाई चिकित्सकीय प्रणालीमा के–कसरी प्रयोग गर्ने भन्ने विज्ञहरूको रायअनुरूप अघि बढ्छौँ। ‘प्रिजर्भ कन्डिसन’ कति समय रहन्छ भन्ने अहिले भन्न सकिन्न,’ उनले भने।

अस्पतालले जनाएअनुसार स्व जोशीको शरीरको हरेक भागलाई अध्ययन अनुसन्धान गरिनेछ। स्व जोशीको चाहनाअनुरूप चिकित्सा प्रणालीमा अनुसन्धान हुनेछ।

‘मेरो शरीरको चिकित्सा प्रणालीअनुरूप अध्ययन होस्’ भन्ने उहाँको चाहना थियो सोहीअनुरूप सम्पूर्ण अंगग प्रत्यंगको सूक्ष्म रूपमा अध्ययन अन्वेषण गरिन्छ’ स्व जोशीको भनाइ उद्धृत गर्दै अस्पतालका निर्देशक बज्राचार्यले भने।

उनले जोशीबारे चिकित्सा शिक्षा मात्र नभई हरेक क्षेत्रमा अध्ययन गर्न चाहनेलाई अनुसन्धान गर्ने अवसर दिइने बताए। स्व जोशीको शरीरको विस्तारै अध्ययनको प्रक्रिया सुरु गरिने र विशेषज्ञ चिकित्सकहरूबाट शरीरको हरेक भागको अध्ययन हुनेछ।

कहाँ राखिन्छ पार्थिव शरीर?

किष्ट शिक्षण अस्पतालले जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरकै आधारभूत साइन्स भवनको हलमा राख्ने निर्णय गरेको छ। अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको बेसिक साइन्स ल्याब रहेको भवनमा राखिने बताए।

अस्पतालमा जोशीको शरीर रहे पनि सर्वसाधारणले भने हेर्न पाउनेछैनन्। मेडिकल क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउने निर्देशक बज्राचार्यले बताए। उनले भने, ‘परिवारले नै हामीलाई गोपनीयता र सम्मानस्वरूप राखिदिनुस् भन्नुभएको छ र मेडिकल ‘इथिक्स’को पनि कुरा हुन्छ।’

आज बिहान सात बजेर नौ मिनेट जाँदा निधन भएका जोशीको चिकित्सा प्रणाली पूरा गरेर मध्याह्न अस्पतालमा आधा घण्टा श्रद्धाञ्जलीका लागि राखिएको थियो।

त्यसपछि ललितपुर महानगरपालिका प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि साँझसम्म राखियो। त्यहाँ प्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका शीर्ष नेता, साहित्यकार एवं शुभेच्छुक सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति थियो। स्व जोशीलाई राष्ट्रिय सलामी अर्पण गरी अन्तिम बिदाइ गरिएको थियो।

श्रद्धाञ्जलीपछि परिवारले जोशीको पार्थिव शरीर किष्ट अस्पताललाई पूर्ण रूपमा हस्तान्तरण गरेको छ। अन्त्येष्टि नगरिए पनि त्यसबाहेकका अन्य संस्कार विधिपूर्वक पूरा गरिने उनका जेठा छोरा अणुराज जोशीले बताए। आफूहरूको इच्छाअनुरूप बुवाको शरीर अस्पताललाई दिइएको उहाँले उल्लेख गरे।

‘मरणोपरान्त अस्पतालमा अध्ययन गर्नका लागि शरीर दान गर्ने बुवा (स्व जोशी) को इच्छाअनुरूप लेखेरै दिनुभएको थियो, मैले पनि हस्ताक्षर गरेको हुँ, सोहीअनुरूप शव अस्पताललाई हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘बुवाको इच्छा त केही नगर्नु भन्ने थियो, ९९ वर्षीया आमाको पनि सोही इच्छा छ तर अन्तिम दाहसंस्कारबाहेक भोलिदेखि अन्य संस्कार गर्छौँ होला। पुरोहितसँग सल्लाह गरेर बाँकी काम सक्छौँ,’ उनले भने। रासस

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *