एमालेको देशभर ४२ स्थानमा सभा गर्ने गरी चुनावी अभियानको कार्यतालिका तयार

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ –  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि एमालेले कात्तिक १८ गतेदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ।सुदूरपश्चिमको दार्चुलाबाट कात्तिक १८ गते अध्यक्ष केपी शर्मा ओलीले सुरु गर्ने अभियान पूर्वमा पुगेर अन्त्य हुनेछ।

एमाले पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पश्चिमदेखि पूर्वसम्म ४२ भन्दा स्थानमा सभा गर्ने गरी चुनावी अभियानको कार्यतालिका तयार भएको छ। एकै दिन तीनवटासम्म जिल्लामा सभा हुनेछ।

उनले भने, ‘चुनावी अभियान दार्चुलाबाट सुरु हुन्छ। देशका विभिन्न ठाउँका ४२ भन्दा बढी स्थानमा सभा हुनेछ। सबैजसो सभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ।’

एमालेले दार्चुलबाट चुनावी अभियानको थालनी गरेर ‘राष्ट्रवाद’लाई चुनावी एजेण्डा बनाउने भएको छ। तत्कालीन नेकपाको सरकार हुँदा ओलीकै नेतृत्वमा लिम्पियाधुरा लिपुलेकसहितको नक्सा सार्वजनिक गरेको एमालेले त्यसलाई आफ्नो कार्यकालमा भएको राष्ट्रवादी कामका रूपमा प्रस्तुत गर्दै आएको छ।

१८ कात्तिक बिहान ११ बजे ओलीले दार्चुलाको खलंगामा सम्बोधन गर्नेछन्। त्यसै दिन उनले दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुर चुनावी सभालाई सम्बाेधन गर्ने अधिकारीले जानकारी दिए।

निर्वाचन आयोगले मतदानको मौन अवधि सुरु हुनुभन्दा १७ दिनअघिदेखि मात्रै चुनावी सभा गर्नु पाउने गरी आचारसंहिता लागू गरेको छ। यता सत्ता गठबन्धनले भने प्रदेश १ बाहेक ६ वटा प्रदेशमा प्रदेशस्तरीय सभा गरिसकेकाे छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *