नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ । बुधबार हुनलागेको संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने स्पष्ट भएको छ । दलको निर्वाचनमा संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समुहको नेतृत्व गर्दै थापाले उम्मेदवारी दर्ता गराइसकेका छन् । कांग्रेसभित्र देखिएको स्पष्ट दुई समुहबीच नै संसदीय दलमा समेत प्रतिष्पर्धा हुने भएको छ । तर १४ औं महाधिवेशनमा बनेको दुई समुहको समीकरणमा यतिबेला केही बदलाव देखिएको छ । इतर समुहको नेतृत्व डा. शेखर कोइराला गर्दै आएपनि प्रतिनिधिसभाको निर्वाचनबाट गगन थापाले खुलेरै आफू प्रधानमन्त्री बन्ने दावी गरेपछि इतरसमुहमा कलह देखिएको थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदिप पौडेलजस्ता युवा नेताहरुले खुलेरै थापाको पक्षमा बोल्न थालेपछि कमजोर बनेको कोइराला समुह पुनः बलियो अवस्थामा आइपुगेको छ । मंगलबार अन्तिम समयमा डा.शेखर कोइरालाले गगन थापालाई दलको नेतामा सघाउन सहमति जनाएपछि कमजोर बनेको इतर समुह एकाएक बलियो अवस्थामा पुगेको हो ।
नेपाली कांग्रेसमा नीति र नेतृत्वको बहस लामो समयदेखि चल्दै आइरहेको छ । तर पछिल्लो समयमा १४ औं महाधिवेशमा मात्र युवाको बलियो उपस्थितिले नेतृत्व परिवर्तनको दिशामा सार्थकता थपेको थियो । महामन्त्री द्वय थापा र शर्माजस्ता युवा नेताहरु महामन्त्री जस्तो बलियो पदमा विजयी हुनुले नेतृत्व पविर्तनको आम भावनाको प्रतिनिधित्व बलियो हुँदै गएको देखिएको थियो । आम निर्वाचनमा समेत युवा नेताहरु र अन्य राजनीतिक दलहरुमा समेत युवाहरु प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनुले जनताले समग्र राजनीति नै युवाको नेतृत्व हुनुपर्छ भनेर अनुमोदन गरेको स्पष्ट नै भएको छ । अझ कांग्रेस भित्र नीति र नेतृत्वको बहस चरमचुलीमा छ । जनताको भावना र अभिमत यतिबेला युवाको पक्षमा र नेतृत्व परिवर्तनको पक्षमा रहेको परिस्थितिमा महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने दृढ निर्णय गरे । पार्टीभित्र र बाहिर समेत घनिभूति छलफलको विषय बन्यो र अन्तत थापाको नेतृत्वलाई इतर समुहले अर्थात् डा.शेखर कोइराला समुह र विश्वप्रकास शर्मा र प्रदिप पौडेलले सहमति जनाउनुलाई अत्यन्त सकारात्मक रुपमा लिनुपर्दछ ।
संसदीय दलको निर्वाचनमा देउवाको प्रतिष्पर्धी थापाको उम्मेदवारी एउटा नेतृत्व परिवर्तनको पक्षमा रुपान्तरणकारी प्रयास हो । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा पाँचौ पटक अहिले प्रधानमन्त्री पदमा विराजमान छन् । अब संसदीय दलको निर्वाचनमा उम्मेदवारी दिएर छैठौं पटक प्रधानमन्त्री पदको दाबेदारी प्रस्तुत गरिरहेका छन् । उनी दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिको जिम्मेवारीमा रहेका छन् । नीति र नेतृत्व परिवर्तनको प्रयास जतिभइरहेको छ उतीनै पार्टीभित्र देउवा बलियो अवस्थामा छन् । राजनीतिका पुराना खेलाडि र सवैलाई मिलएर लानसक्ने क्षमताका नेता देउवाको पक्षमा पार्टीभित्र र अहिले संसदीय दलमा पनि बलियो वर्चश्व देखिन्छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पद्दति अनुसार निर्वाचनमा प्रतिष्पर्धाबाट पदमा पुग्नुलाई अलोकतान्त्रिक मान्न मिल्दैन । तर वृद्धावस्था, दिनदिनै बढिरहेको अलोकप्रियता र पटक पटक एउटै पदमा देउवा किन बसिरहन चाहन्छ भन्ने प्रश्न समग्र पार्टीकै लागि गम्भीर बन्दै गएको छ ।
बिपी कोइरालादेखि उदाहरणीय वैकल्पिक नेतृत्व परिवर्तन, त्याग र सहमतिको संस्कार यतिबेला नेपाली कांग्रसमा देखिंदैन । बिपी कोइरालाले सुवर्ण शमशेरलाई प्रधानमन्त्रीको रुपमा उभ्याएका थिए । कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता नेताले कांग्रसमा त्यागको उदाहरण प्रस्तुत गरेका थिए । यसै वैकल्पिक नेतृत्व निर्माण र त्यागको ऐतिहासिक क्षणमा सभापति देउवा उभिएका छन् । उनले यतिबेला युवा र परिपक्व नेतृत्व छानेर जनताले चाहेअनुसारको व्यक्ति प्रधानमन्त्रीमा चयन गर्ने र समग्र नेपली कांग्रेसलाई एकताको सुत्रमा बाँध्न विकल्प दिएर प्रतिष्पर्धाबाट बाहिरिनु पर्दछ । समय र देशको माग यही हो । नेतृत्व निर्माण र सहमतिको राजनीतिको विकासले गुट उपगुट र समुहमा चर्किएको नेपाली कांग्रसलाई बलियो बनाउने अवसर पनि यही नै थियो । यस्तो ऐतिहासिक जिम्मेवारीबाट पन्छिएर पद ओगटीरहनु सभापतिको लागि वाञ्छनीय देखिंदैन । यो परिस्थितिमा जडशक्ति बनेर उभिएको देउवा समुहलाई पराजित वा परिवर्तन गरेर नेतृत्व परिवर्तनको आम भावनाको नेतृत्व गगन थापाले गर्दैछन् । जसलाई डा.शेखर कोइराला र अन्य समुहले सघाउनु यतिबेला स्वागत योग्य कदम हो । यो रुपान्तरण र नेतृत्व परिवर्तनको लागि अपरिहार्य छ ।