काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रुपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्। मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रुपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उनले यस्तो बताएका हुन्। उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताए।
उनले भने, ‘हामीहरुको बीचमा धेरै छलफल भयो। गगन थापाले भनेजस्तै स्थायीत्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौँ। आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनहरु हेर्दै जानुपर्छ। त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ।’
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।
देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन्। महामन्त्री थापाको प्रस्तावकमा भने डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन्।