निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन आयोगको निर्देशन

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ । सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन्। उनले उम्मेदवारहरूले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे । उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरे ।

 

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले सोही अनुरूप काम गर्न पनि आग्रह गरे । त्यस्तै उनले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने  बताए । उनले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरूमा राजनीतिक आबद्धता देखाउनु नहुने पनि उल्लेख गरे । सचिव दुवाडीले सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताए । उनले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्न सक्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई अप्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न पनि अनुरोध गरे ।

उनले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गरे । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र सोही समिति अन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने बताए । त्यस्तै कर्मचारीहरूलाई निर्वाचनमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उनले त्यस्तो आरोपबाट मुक्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिए । उनले कसैले निर्वाचनमा खलल पुग्ने खालको गतिविधि गरेमा कानुनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरमा ल्याउन निर्देशन दिए । सचिव दुवाडीले यसरी नियन्त्रण तथा कारबाही गरेका कुराहरू नागरिकसम्म पुर्‍याउन समाचार सम्प्रेषणमा ध्यान दिनपनि आग्रह गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *