काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले विविध विधाका साहित्य श्रष्टाहरुलाई सम्मान गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका बेंसीगाउँमा आफ्नो पन्ध्रौ स्थापना दिवसको अवसरमा श्रष्टाहरुलाई सममान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार वरिष्ठ आख्यानकार हरिहर खनाललाई, सुरभि बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ आख्यानकार भाउ पन्थीलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार विश्व कुइकेललाई प्रदान गरिएको छ ।
यसै गरी सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार रञ्जना पराजुलीलाई, सुरभि अच्युतराम लघुकथा पुरस्कार डा। रवीन्द्र समीरलाई र सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार लक्ष्मण खतिवडालाई प्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक गोपीकृष्ण शर्मालाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
प्रत्येक महिनाको तेस्रो शनिवारलाई आख्यान वाचन कार्यक्रमको रूपमा लिएको प्रतिष्ठानले १ सय ४५ औं आख्यान वाचनको निरन्तरता स्वरूप पुरस्कृत आख्यानकार विश्व कुइकेलबाट कथावाचन समेत गराएको थियो । प्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ साहित्यकार विजय चालिसेको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा काँठ क्षेत्रका चर्चित आख्यानकार नारायण ढकाल, वरिष्ठ हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य, वरिष्ठ कथाकार नरेन्द्रराज पौडेल तथा प्रतिष्ठानका संरक्षक तथा वरिष्ठ समालोचक युवराज मैनाली समेतको उपस्थिति थियो ।
कार्यक्रमका विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्री नन्दलाल श्रेष्ठले सुरभि साहित्य प्रतिष्ठानले गर्दै आएका कार्यहरूको सह्राना गर्नु भएको थियो । प्रतिष्ठानले सुलेख साहित्यिक मासिक नामको साहित्यिक पत्रिका नियमित रूपमा प्रकाशन गर्दैआएकोमा सोही कार्यक्रममा जोरपटी आरुबारीमा जन्मिएर साहित्यिक शिखरमा पुग्नुभएका साहित्यकार रमेश विकलप्रति समर्पण गर्दै आफ्नो १ सय २५ औ अङ्क रमेश विकल विशेषाङ्कको रूपमा प्रकाशन गरेको जानकारी गराउँदै उक्त अङ्कको विमोचन समेत गरिएको थियो ।