काठमाडौँ – टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३६५ बढी जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९२१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन् ।
टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर कयौँ परकम्प गइरहेको समाचारमा जनाइएको छ ।
रातभर पनि खोजी तथा उद्धारको काम जारी राखिएको बीबीसीले जनाएको छ । टर्कीमा भूकम्पका नयाँ पराकम्प जाने क्रम जारी रहेको समाचारमा जनाइएको छ । मंगलबार बिहानै ५.५ म्याग्निच्युडको पराकम्प महसुस गरिएको छ । टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।