काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री श्रेष्ठसँग बुधबार भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए ।
भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने विश्वास व्यक्त गरेका थिए । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको प्रस्तावको विषयमा आवश्यक गृहकार्य गरिसकेको छ ।
वैशाखको पहिलो साता भारत भ्रमण हुने भनिएको भए पनि हालसम्म मिति तय हुन सकेको छैन । राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताएका थिए ।
सो भेटमा सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ । नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले बताएको छ ।
सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताएको सचिवालयले जनाएको छ । भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने राजदूत श्रीवास्तवले बताएका थिए ।