काठमाडौं( प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शिलतनिवासमा बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। राष्ट्रपतिले संविधानविपरीत अनावश्यक सक्रियता देखाएर बैठक बोलाएका कारण नजाने भन्दै जारी बैठकमा एमाले अनुपस्थित भएको हो। उक्त बैठकमा एमालेबाहेकका दलहरू सहभागी छन्।
बैठक आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई नभएको र यस विषयमा आफूहरूले सरकारसँगै छलफल गरिररहेका कारण आफूहरू उक्त बैठकमा सहभागी नभएको एमाले सचेतक महेश बर्तौलाले बताए।
उनले भने, ‘सर्वदलीय बैठक आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई छैन। यस विषयमा हामीले सरकारसँगै छलफल गरिररहेका छौं। सरकारसँग छलफल भइरहेको बेलामा राष्ट्रपतिले यसरी बैठक आह्वान गर्न मिल्दैन त्यसकारण हामी जाँदैनौं।’अवैध सुन तस्करी प्रकरणमा सोमबार उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ।
उच्चस्तरीय समिति केकस्तो बनाउने भन्ने विषयमा छलफल गर्न प्रमुख ३ दलका नेता सम्मिलित समिति गठन भएको छ। समितिमा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन्।
आजै कस्तो समिति बनाउने भन्नेबारेमा टुंगो लगाउन सर्वदलीय बैठक आह्वान गरिएको छ। बैठक आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ।