नयाँ नक्साको प्रस्ताव बैठकमा मैले नै राखे, यो पार्टीको सामूहिक निर्णय हो – बामदेव

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने नियर्ण पार्टीको सामूहिक प्रयासबाट सम्भव भएको बताएका छन् । पार्टी बैठकमा आफ्नो समेत जोडदार मागपछि पार्टीको निर्देशनअनुसार सरकारले निर्णय गरेकाले एक व्यक्तिको देवत्वकरण नगर्न आग्रह गरेका छन् । बुधबार बिहान फेसबुकमा लेख्दै गौतमले वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको भन्दै प्रशंसा गरेका छन्।

‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ।’ गौतमले लेखेका छन्, ‘तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रियाअनुसार भएर नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ।’

नेपालका अतिक्रमित भूमिलाई समेटेर नक्सा जारी गर्नपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले नै लगेको गौतमले दाबी गरेका छन्। ‘शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु। यसपटक पनि छुटेका नेपाली भू–भाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु।’ गौतम भन्छन्।

यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको गौतमको भनाइ छ।

Facebook Comments Box