- डा. बिष्णु सुबेदी, भरतपुर
“मान्छे गडयौला भैदिएको भए”
म सोच्छु
मान्छे गड्यौला जस्ता भैदिएको भए
मुटु बिनाका ती मान्छेहरु
माटै खाएर बाँच्थे होला
धर्तिमा लुप्त भएर
लिपेका एकनाश घरभित्र
एक्ला एक्लै
न त दुःख न त सुख
केबल जिउनुमै जीवन सक्थे होला ।
फेरि म सोच्छु
गड्यौला जस्तो नभएर पनि
मान्छे मान्छे जस्तो छैन
मुटु भएर पनि
जीवन जिवन्त छैन
धर्ती बाँडेर देश परदेश
भाग लाउदा पनि
धर्तिप्रेमी बन्न सक्दैन मान्छे
जन्मदा माटो खाएर
मरेर माटो भएर जानुमा
कुनै अर्थ भेट्दैन मान्छे ।
एकैछिन, ए मान्छे !
बर्षात पछि मग्मगाएको
धर्तिमाथि नाचेको जुनकिरीलाई सोध
धर्तिको मादक बासना
माटोमा सुतेको झ्याउकिरीलाई सोध
धर्तिको ओड्ने र डसना
हो
मान्छे धर्ति छुन घिनाँउछ
धर्तिमा बसेर फेरि अर्को
चन्द्र सूर्य चिनाँउछ
जमिनमा उभिन सिकेर
पुर्खाको अस्तु झिकेर
बिज्ञानका अनेक गणना गर्छ
र भन्छ
“मान्छे पहिल्यै गडयौला झैं थियो रे
अनाम अनाकार
तन्तुबिहिन सुडौला थियो रे”
अनि समयसँगै बिज्ञान अगाडि गडयौला
झैँ तन्किन्छ
फेरि तारतम्य मिलाउदै फर्केर
एकान्त समु्द्र तटभित्र लेगुनमा थन्किन्छ
म अझै सोच्छु
ति लेगुनका अवयवहरु धर्तिसंगै पग्लिएर
अणु अणुमा सग्लिएर
सल्बलाउन थाले होलान
अनि
बिस्तारै गड्यौला झैं
चल्मलाउन थाले होलान
त्यसपछि
बिरानो हुन थाल्यो होला
माटोको गन्ध
अनि बिस्तारै भयो होला
धर्तिमाथी बस्ने प्रबन्ध
अझै म सोच्दै छु
धर्तिमाथि बस्ने मान्छे भन्दा
धर्तिमुनि लुक्ने गडयौला जाती
धर्ति बिगार्ने मान्छेभन्दा
धर्ति सपार्ने गडयौला जाती
त्यसैले
कहिलेकाहि त लाग्छ
मान्छे गड्यौला जस्ता भैदिएको भए ।।।