विकल साहित्य प्रतिष्ठानद्वारा पुरस्कारहरूको घोषणा साहित्य

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ / रमेश विकल साहित्य प्रतिष्ठानले २०८१ कालागि प्रदान गरिने पुरस्कारहरूको घोषणा गरेको छ । बहु आयामिक विकलका साहित्य, सङ्गीत र चित्रकारिता सहित शैक्षिक एवम् सामाजिक व्यक्तित्वको सम्मानमा स्थापित ६ विद्याका पुरस्कारहरू १६औँ रमेश विकल स्मृति दिवसका अवसरमा २०८१ पौष ६ गते प्रदान गरिने भएको छ ।

यस वर्षको रमेश विकल वाङमय पुरस्कार भैरवबहादुर थापालाई अर्पण गरिने छ । नृत्य शास्त्री थापाले नृत्य-निर्देशनका साथै ६५ वर्ष लगाएर नृत्य लिपि र प्राविधिक पाटो सम्बन्धी ‘नृत्याक्षर विज्ञान’ ग्रन्थ समेत तयार पारी कला र सांस्कृतिक उत्थानमा विशिष्ट योगदान दिनुभएको छ ।

रमेश विकल—सुशीला समाजसेवा पुरस्कार मासिक १०० रुपैयाँ अभियान नेपाललाई प्रदान गर्ने निर्णय भएको छ । उहाँ आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शैक्षिक उत्थान तथा ज्येष्ठ नागरिकहरूलाई समाजमा सम्मानित एवम् क्रियाशील बनाउने कार्यमा लामो समय देखि क्रियाशील हुनुहुन्छ ।

रमेश विकल सृजना पुरस्कार युवराज मैनालीलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली साहित्यका स्रष्टा र समालोचक मैनालीको लेखन–यात्रा २०३७ सालबाट भएको देखिन्छ । उहाँका हास्यव्यङ्ग्य, लघुकथा र समालोचनाका कृतिहरू प्रकाशित छन् ।

रमेश विकल बाल साहित्य पुरस्कार अमर कुमार प्रधानलाई प्रदान गर्ने निर्णय भएको छ । वि. सं. २०११ मा दोलखामा जन्म भएको लब्धप्रतिष्ठ साहित्यकार अमरकुमार प्रधान मूलतः कथा र बाल साहित्यको क्षेत्रमा कलम चलाई रहनु भएको छ ।

रमेश विकल—सुशीला नारी सेवा सम्मान पुरस्कार चिनीमाया माझीलाई प्रदान गर्ने निर्णय भएको छ । वहाँ नेपाल माझी उत्थान सङ्घ मार्फत सीमान्तकृत माझी समुदायको उत्थानमा सक्रिय हुनुहुन्छ।

रमेश विकल सङ्गीत कला पुरस्कार रामकृष्ण दुवाललाई प्रदान गर्ने निर्णय भएको छ । दुवालले पाँच दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि हक अधिकार प्राप्तिका लागि सङ्गीतका माध्यमबाट जागरण आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ।

त्यसै गरी रमेश विकल असहाय पुनर्स्थापना समाज (अपुस) छात्रवृत्तिको लागि माझिगाऊँ मण्डन स्थित विन्ध्यवासिनी मा वि की कक्षा ८ मा अध्ययनरत छात्रा दिलासा तामाङ छनौट हुनुभएको छ ।

पुरस्कार सिफारिस समितिका संयोजक महेन्द्र चालिसे सहित अन्य दुई साहित्यकारहरू गोपाल अश्क र मेनका पोख्रेलको सिफारिसलाई रमेश विकल साहित्य प्रतिष्ठान कार्यसमितिले अनुमोदन गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *