अमेरिका लगायतका देशहरुले लकडाउनका प्रतिबन्धहरु हटाउन थालेपछि डब्लुएचओको चेतावनी

खवर पाटी (खोज खबरको अभियान)
जेनेभा, जेठ ८,  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले बुधबार कोरोना भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने चेतावनी पुनः दोहोर्याएका छन्।

कोरोना संक्रमितको संख्यामा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धिकाबिच उनले  यस्तो चेतावनी दिएका हुन्।

डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६ हजार नयाँ संक्रमित फेला परेका छन्।

डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले कम र मध्यम आय भएका राष्ट्रहरूसँग बढ्दो संक्रमणका बारेमा भएको सम्मेलनमा यस किसिमको चेतावनी दिएका हुन्।

‘पछिल्लो २४ घण्टामा मात्रै डब्लुएचओलाई १ लाख ६ हजार नयाँ संक्रमित रिपोर्ट गरिएको छ। यो महामारी सुरु देखिको दैनिकी रेकर्ड अनुसार एकै दिनमा सबैभन्दा धेरै पुष्टि भएको संख्या हो,’ महानिर्देशक टेड्रोसले सम्मेलनमा भने, ‘यी मध्य झण्डै दुई तिहाई संक्रमित केसहरु चार देशका हुन्।’

विश्वव्यापी रूपमा संक्रमित संख्या ५० लाख नाघेपछि डब्लुएचओले चिन्ता व्यक्त गरेको हो।

अमेरिका लगायत संक्रमण बढ्दो अवस्थामा रहेका देशहरुले लकडाउनका प्रतिबन्धहरु हटाउन थालेपछि डब्लुएचओले चेतावनी दिएको हो।

उनले यो महामारी अझै लामो समय रहिरहने बताए।

दुई साता अघि संसारभर संक्रमित संख्या जम्मा ४० लाखको हाराहारीमा थियो भने पछिल्लो दुई सातामै यो संख्या ५० लाख नाघिसकेको छ।

तर विज्ञहरूका यो तथ्यां सही नहुन सक्ने जनाएका छन्।

विश्वका धेरै देशहरूमा परीक्षणदर निकै कम भएकाले संक्रमित संख्या अझ बढी हुन सक्छ उनीहरूको बुझाइ छ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३ लाख २६ हजार भन्दा बढी मानिसहरु संक्रमणका कारण ‍मरेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको पहिलो नम्बरमा अमेरिका छ। यहाँ १५ लाख जनामा संक्रमण पुष्टि भएको छ भने ९२ हजार बढीले ज्यान गुमाएका छन्।

सम्मेलनमा डब्ल्युएचओको आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोनाभाइरस सम्बन्धमा मलेरिया ड्रग्स क्लोरोक्वाइन र हाइड्रोअक्सीक्लोरोक्वाइनको प्रयोगको विरोध गरेका छन्।

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले यस प्रकारको औषधि सेवन स्वास्थ्यका लागि ठिक नहुने चेतावनी दिदैं आइरहेको भएपनि भाइरस हटाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जाइट बोल्सनारूले यसप्रकारका औषधिमा जोड दिदैं आएका छन्।

अमेरिकी राष्ट्रपतिले यसै साता आफूले कोरोनाबाट जोगिन ती औषधि साता दिन भन्दा लामो समयदेखि सेवन गरेको खुलासा गरेका तिए।

‘अहिले सम्म हाइड्रोअक्सीक्लोरोक्वाइन र क्लोरोक्वाइनको प्रयोगले कोरोना भाइरस उपचार प्रभावकारी बनाउँछ भन्ने पुष्टि भएको छैन। न त यो भाइरससँग लड्न प्रोफेलेक्सिसमा प्रतिरोधात्मक क्षमता छ,’ रायनले भने, ‘वास्तवमा यसको ठीक उल्टो हुन सक्छ। यी औषधिहरुको प्रयोगमा साइड इफेक्टहरु देखिनसक्ने धेरै अधिकारीहरुले बताइसकेका छन्।’

साइड इफेक्टका चेतावनी बाबजुत ब्राजिलको स्वास्थ्य मन्त्रालयले भने बुधबार नयाँ दिशानिर्देशहरू जारी गरेको छ जस अन्तर्गत कोरोना भाइरसविरुद्ध लड्नका लागि यी दुई औषधिको प्रयोग अनुमोदन गरेको छ।

पछिल्लो समय ब्राजिलमा कोरोना भाइरस संक्रमित निरन्तर बढिरहेका छन्।

हालसम्म त्यहाँ संख्या २ लाख ७० हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १८ हजार बढीको मृत्यु भइसकेको छ। बुधबार मात्र ब्राजिलमा २० हजार नयाँ संक्रमित फेला परेका छन्। – एजेन्सी

Facebook Comments Box