काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजबाट सुरु भएको छ । बैठक आज दिउँसो १२:३० बजेबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् ।
बैठकमा रास्वपा मधेश प्रदेश सभापति र महामन्त्रीलगायतको पनि सहभागिता रहेको थियो । आजको बैठकमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका थिए । महामन्त्रीपछि प्रदेशका सभापतिहरूले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोमबार नै केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभागका प्रमुख डा. भरतमणि देवकोटाले पेस गर्ने कार्यसूची छ ।
सोमबार पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ । त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेस गर्नेछन् । आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन् ।
संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार सांगठनिक प्रतिवेदन पेस गर्ने भएका छन् ।
मंगलबार विहान केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक पनि बस्नेछ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भने बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिबारे एक प्रतिवेदन पेस गर्नेछन् ।
मंगलबार नै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने रास्वपाले जनाएको छ ।