काठमाडौं, पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरी सम्पर्कविहीन एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पोर्चुगल पठाउने भन्दै लाखौं ठगेर बेपत्ता एक महिलालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८ बस्ने बाराको निजगढकी ४३ वर्षीया सुष्माकुमारी खड्का रहेकी छन्। उनलाई सोमबार काठमाडौँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसको लागि ११ लाख लाग्छ भनेर ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर बारा निजगढ – ४ भई हाल तारकेश्वर नगरपालिका वडा नं. ८ बस्ने खड्काले राजु शाहीलाई पोर्चुगल जान ११ लाख रुपियाँ लाग्ने र त्यहाँको एक होटलमा वेटरको काममा मासिक एक लाख २० हजार रुपियाँभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारेकी थिइन् ।