जनकपुरधाम – विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौं दिन जनकपुरधाममा शनिबार मटकोर विधि सम्पन्न भएको छ। बाजागाजासहितको टोली जानकी मन्दिरको प्राङ्गणबाट बिहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेको थियो। मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिनेछ। पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ। मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले प्रत्येक दिन आयोजना गर्ने गंगा आरतीको समेत आयोजना गरेको थियो। सो अवसरमा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवलगायत श्रद्धालुहरुको सहभागिता रहेको थियो। सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र शनिबार पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ। महोत्सवको छैठौँ दिन आइतबार स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।
Facebook Comments Box