काठमाडौं । महिलाको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यलेआयोजना गरिएको ‘पिंक केयरएथन’ शनिबार सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आयोजित कार्यक्रममा २ वर्षदेखि ७० वर्षसम्मका झण्डै २००० महिला सहभागी थिए ।
लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा काठमाडौं पिंक केयरएथन आयोजना गरेको हो । पिंक केयरएथनमा महिलाहरुको ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरिएको थियो । १० किलोमिटरतर्फ आस्था राउत प्रथम, मनिता घतामी दोस्रो तथा संगिता तामाङ तेस्रो भए ।
यसैगरी ५ किलोमिटरतर्फ कल्पना घिमिरे प्रथम, सुशिला राना दोस्रो तथा ममिता धामी तेस्रो हुँदा ३ किलोमिटर दौडतर्फ तिर्सना कुमार पहिलो, सिमा बिथाडी दोस्रो तथा पार्वती चौधरी तेस्रो स्थानमा रहे । सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिलाहरुको स्वास्थ्य सेवा र उपचारमा सहयोग गर्न महानगरले भर्खरै निशुल्क क्यान्सर परिक्षण सुरुआत गरेको जानकारी गराइन् । महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा क्रियाशिल नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवर, भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशाली लगायतले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गरिएको हो । सन् २०१९ सम्म तिन वर्ष लगातार आयोजना गरिएको यो इभेन्ट कोरोना महामारीपछि पहिलो पटक आयोजना गरिएको हो । अर्को वर्षदेखि नियमितरुपमा यो कार्यक्रम आयोजना गरिने आयोजक संस्थाको दाबी छ ।