काठमाडौँ । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एसियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका हुन् । यससँगै छनोटचरण पार गरेर ओलम्पिक खेल्ने उनी चौथो खेलाडी भए ।
फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसको पहिलो ओलम्पियन पाउने पक्का भएको हो । स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै फाइालमा स्थान बनाएका थिए ।
फाइनलमा स्यान्टुले संयोगलाई ४–३ ले हराए । पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८–११ ले गुमाए । त्यसपछिका दुईमा सेट ११–७, ११–६ को जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११,८–११ ले हराए । सातौँ तथा अन्तिम सेट ११–९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।
महिलातर्फ माल्दिभ्सकी धिमा फतिमाअलीले ओलम्पिकमा स्थान बनाइन् । यस विधामा नेपालकै इभाना थापा सेमिफाइनलमा पराजित भएकी थिइन् । उनी श्रीलंकाकी बन्दारा बिमान्दीसँग पराजित भएकी हुन् । नवीता श्रेष्ठको यात्रा पनि क्वार्टरफाइनलमा नै रोकिएको थियो ।