महानगरको आक्रोस, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारियो

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौँको कार्यालय बाहिरको सडकमा धुलो थुपारिदिएको छ ।चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण बेहोर्नुपरेको भन्दै महानगरको धुलो थुपारिदिएको हो ।

मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा उल्लेख गर्दै लेखेका छन् । कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा बिनाकारण महानगरले गाली खानु परेको भन्दै आक्रोश समेत पोखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *