जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस् : प्रचण्ड

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई लिएर धम्की दिएका छन् । उनले संविधान लामो संघर्ष र त्यागबाट बनेको भन्दै अधिकार खोस्ने प्रयास गरे भूइँमान्छेको प्रतिरोध खेप्नुपर्ने बताए । “तपाईंहरू मिल्नुस्, केही छैन । पहिलोपटक मिल्नुभएको पनि होइन, अन्तिमपटक मिल्नुहुने पनि होइन,” प्रचण्डले धम्कीपूर्ण भाषामा भने, “तर, जनताका अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस् । अधिकार उपभोग गरिसकेको जनताका उपलब्धि खोस्न सजिलो हुँदैन । हिजो निदाएको सीमान्त वर्गमाथि जति शासन गर्नुभयो, त्यो गर्नुभयो । अब युद्ध, विद्रोह र आन्दोलनको भट्टीले त्यो वर्गलाई जगाएको मात्र छैन, राप र तापसहित इस्पात बनाइसकेको छ ।”

प्रचण्डले उत्पीडित वर्ग, जाति र समुदायका जनताको त्याग, तपस्या र बलिदानबाट अहिलेका उपलब्धि प्राप्त भएको भने सजिलै खोस्न नसक्ने उने बताए ।  “त्यो प्रयास भयो भने संसद् र सडकमा ठूलो प्रतिरोध हुनेछ । प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुहोस्,” प्रचण्डले भने, “भूइँ मान्छेहरूको प्रतिरोध र विद्रोहको तागत आफ्नै जीवनकालमा आफ्नै आँखाले देखिसक्नुभएको छ । त्यही अवस्था फेरि ननिम्त्याउनुहोस् ।”  उनले सिमान्तकृतका अधिकार खोस्न खोजे हिजोजस्तो क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्डले चेतावनी दिए । 
“क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिट्टै  फेरि नजन्मिन पनि सक्छ,” प्रचण्डले भने, “तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ ।”  उनले वर्तमान संविधानको समावेशिताको रचनागर्भ सामान्य नरहेको भन्दै जनताको त्यागबाट आएको यो उपलब्धि नचलाउन पनि चेतावनी दिए । 

“हजारौं हजार नेपालीको त्याग, तपस्या र बलिदान छ । हिजो जनसेनामा चालीस प्रतिशतभन्दा बढी महिला थिए भन्ने नबिर्सिनोस्,” उनले युद्धसँग उपलब्धि जोड्दै भने, “तपाईंहरूले कमजोर मानेको र दबाएको थारुले देखाएको शौर्य र बलिदान नबिर्सिनोस् । तपाईंहरूले शताब्दियौंदेखि हेपेको मधेसीले आन्दोलनको बलमा काठमाडौंलाई कसरी झुकाएको थियो, त्यो सम्झनोस्, । जनयुद्धको आँधीले हल्लिएको र भत्किएको इतिहास नबिर्सनुस् ।”

उनले राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा माओवादीको क्रान्तिले गरेको उद्धारप्रति कृतज्ञ हुन नसकेको भन्दै बेइमान पनि नहुन आग्रह गरे । “साथीहरूलाई म फेरि सम्झाउन चाहन्छु, यो संविधान जनक्रान्तिको सन्तान र दस्तावेज हो । यो अभिजातहरूले दया गरेर दिएको संविधान होइन, जनताले लडेर बनाएको संविधान हो,” प्रचण्डले भने, “यसको रचनागर्भमा क्रान्ति छ, विद्रोह छ, शान्तिपूर्ण आन्दोलन पनि छ । सीमान्त वर्गले गरेका आन्दोलनहरूको ताप छ ।”

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *