बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, आन्दोलन चर्किएपछि छाेडिन् निवास

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

आरक्षण विरोधी आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । बीबीसीका अनुसार आन्दोलनले हिंसात्मक रुप लिएपछि साेमबार शेख हसिनाले राजीनामा दिएकी हुन् । बंगलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले यसको पुष्टि गरिसकेका छन्। उनले अब सेनाले अन्तरिम सरकार बनाउने समेत घाेषणा गरेका छन् ।

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिएकाे छ । सोमबार ढाकामा स्थिति नियन्त्रण बाहिर गएपछि करिब ४ लाख मानिस सडकमा उत्रिएका छन् । यतिबेला राजधानीका विभिन्न स्थानमा तोडफोड भइरहेको छ ।

साेहि कारण शेख हसिना प्रधानमन्त्री निवासबाट बाहिरिएकी हुन् । समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री ढाका छाडेर सुरक्षित स्थानमा सरेको जनाएको छ । उनकी बहिनी रेहाना पनि उनीसँगै छिन् ।

यसैगरी, हसिना सैन्य हेलिकप्टरबाट भारत पुगेकाे केही संचारमाध्यमले दाबी गरेका छन् । उनी पश्चिम बंगालमा रहेको खबर लेखिएकाे छ । तर, हालसम्म यो पुष्टि भने भइसकेको छैन ।

प्रधानमन्त्री बाहिरिएसँगै प्रदशर्नकारीहरू प्रधानमन्त्री निवास प्रवेश गरेका थिए । उनीहरूले प्रधानमन्त्री कार्यालयमा आगलागी समेत गरेका छन् ।

१८ सदस्यीय अन्तरिम सरकारको प्रस्ताव

यसैबीच,समाचार एजेन्सी रोयटर्सका अनुसार बंगलादेशी सेनाले देशका प्रमुख दलका नेताहरूसँग भेटवार्ता गरेको जनाएको छ। १८ सदस्यीय अन्तरिम सरकारको प्रस्ताव गरिएको छ । सेनाले यो सरकार बनाउने भएकाे हो ।

अर्काेतर्फ, प्रधानमन्त्रीकाे राजीनामापछि सेना प्रमुख जनरल वकार-उज-जमानले हत्या भएहरूलाई न्याय दिइने बताएका छन्। सेनाले सबै दलसँग कुरा गरेकाे जानकारी दिँदै उनले राम्रो कुराकानी भएकाे बताए । “प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अब हामी अन्तरिम सरकार बनाउँछौ । सम्पत्तिकाे नोक्सान भइरहेको छ । मलाई जिम्मेवारी दिनुहोस्, म सबै सम्हाल्नेछु।”

अवस्था तात्दै गएपछि प्रधानमन्त्री कार्यालयमा हजारौंको भिड लागेको छ । प्रदशर्नकारीहरु हात उठाएर जयजयकार गरिरहेका छन् । यससँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

बंगलादेशी पत्रिका प्रथम आलोका अनुसार धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जसमा ६ जनाभन्दा बढीको मृत्यु भएको छ । आन्दोलनकारीले टङ्गाइल र ढाकाका महत्वपूर्ण राजमार्गहरू कब्जा गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *