सिपाहीले लाठी र बन्दूकमात्र बोक्दैनः प्रहरी महानिरीक्षक कुँवर

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं: प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सिपाहीले लाठी र बन्दूकमात्र नबोकेर बौद्धिक क्षेत्रमा पनि क्रियाशील रहने बताएका छन् । प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानद्वारा लिखित र अक्षरधाम प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ‘सादृश्य विम्ब’ कथा सङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका प्रहरी महानिरीक्षक कुँवरले उक्त दुवै पुस्तक लोकार्पण गर्दै सो कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैंमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको भन्दै आमजनमानसमा रहेको प्रहरीप्रतिको लाठी र बन्दूकमात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस प्रकारका पुस्तकहरुले प्रशंसनीय भूमिका खेल्ने उल्लेख गरे । अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति-सुरक्षा, अमन-चयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयामिक प्रतिभासमेत हुन्छ भन्ने तथ्यको यी पुस्तकहरुले प्रस्फुटित गरेको चर्चा गरे ।

प्रहरी महानिरीक्षक कुँवरले वंश परम्परासम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेदजस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ले सामाजका विविध पक्षहरूलाई उजागर गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन-मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनकारूपमा रहने अपेक्षा लिएको बताए । साथै उनले प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानलाई बधाई दिँदै आगामी दिनमा अझ नवीन र सिर्जनशील रहँदै साहित्यिक क्षेत्रमा थप अग्रसर भई ख्याती प्राप्त गर्न सफल हुन शुभकामनासमेत व्यक्त गरे ।

प्रमुख अतिथि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, विशिष्ट अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलगायतले संयुक्त रूपमा उक्त कथा सङ्ग्रह र नाटक लोकार्पण गरेका थिए । साथै कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुँवरले साहित्यकार घनबहादुर थापा र कृति प्रकाशनमा संलग्न अन्य व्यक्तिहरुलाई प्रशंसापत्र-कदरपत्रसमेत प्रदान गरेका थिए ।

उक्त अवसरमा प्राज्ञ डा. मधुसूदन गिरीले ‘सादृश्य विम्ब’ कथा सङ्ग्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए । डा. छायादत्त न्यौपाने ‘बगर’ ले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा कृतिका सर्जक प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले कृतिसम्बन्धी आफ्नो धारणासहितको मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *