काठमाडौं : आज गाईको पूजाआजा गरी कात्तिक शुक्ल प्रतिपदा अर्थात गाई(गोरु पूजा मनाइएको छ। सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानि गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। गाई पुजाको दिन ललितपुरको स्नेहाज केयर र चोभारमा पनि मानिसहरूले गाई पुजा गरेका छन्।
आजै गोरु र कृषकको पूजाआजा पनि गरिंदैछ। वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ।
गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।
द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।