आज मुस्लिम समुदायको महान पर्व इद, खुसीयालीका साथ घरघरमा मनाउदैं

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पवित्र महिना रमजान सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुल-फित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

हिजरी संवतको रमजान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमजान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी) ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

ईद पर्वमा अल्लाह (ईश्वर) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लामिक परम्परा छ । ईदका दिन मुस्लिम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरआन मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् (दान) आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

मुस्लिम समुदायको महान पर्व इदको शुभकामना (इद मुबारक)

खबरपाटी डटकम   _________ खोज खबरको अभियान

Facebook Comments Box