काठमाडौं । देशभरमा रणनीतिक र स्थानीय सडक सञ्जालको लम्बाइ ३४ हजार ३ सय ४७ किलोमिटर पुगेको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा देशभरमा कालोपत्र सडक १५ हजार २ सय ५४ किमी, खण्डस्मिथ नौ हजार २ सय ५१ किमी र कच्ची सडक नौ हजार ८ सय ४२ किमी निर्माण भएको छ ।
देशभरका रणनीतिक र स्थानीय सडकसमेत गरी १५ हजार २ सय ५४ किलोमिटर कालोपत्र, नौ हजार २ सय ५१ किमी खण्डस्मिथ र नौ हजार ८ सय ४२ किमी कच्ची सडक निर्माण भएको छ । सर्वेक्षणअनुसार संघीय सरकारले ५ सय ५९ किमी सडक कालोपत्र, ६ सय ५७ किमी सडक खण्डस्मिथ र २ सय ५२ किमी कच्ची सडकको निर्माण गरेको छ । फागुनसम्ममा नै १ सय ५७ किमी सडक आवधिक मर्मतसम्भार सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा १ सय १२ किमी सडक आवधिक मर्मत भएको थियो ।
संघीय सरकारले स्थानीय सडक र राष्ट्रिय गौरवका सडकमा गरी १ सय २९ पुल निर्माण सम्पन्न गरेको छ । तीन पुलको लक्ष्य लिएकामा आधाभन्दा कम मात्रै सम्पन्न भएको छ । गत आवमा देशमा २ सय ३० पुल निर्माण भएको थियो ।
प्रदेशअनुसार हेर्दा यो अवधिमा सबैभन्दा बढी वाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा सडक निर्माण भएको पाइन्छ । वाग्मती प्रदेशमा २५ दशमलव १२ र कर्णाली प्रदेशमा चार दशमलव ४४ प्रतिशत सडक निर्माण भएको छ । प्रदेश १ मा ७ सय ३ किमी, प्रदेश २ मा ३ सय ४४ किमी, वाग्मती प्रदेशमा एक हजार २ सय ५ किमी र गण्डकी प्रदेशमा ५ सय ७७ किमी सडक कालोपत्र भयो । त्यस्तै, प्रदेश ५ मा ८ सय ४५ किमी, कर्णाली प्रदेशमा ७९ किमी र सुदूरपश्चिम प्रदेशमा १ सय ९७ किमी रहेको सडक कालोपत्र भएको छ ।
राष्ट्रिय गौरवका आयोजनातर्फ मध्यपहाडी (मध्यपहाडी) लोकमार्ग १ सय ४० किमी कालोपत्र र १ सय ८६ किमी सडक ग्राभेल सम्पन्न भएको छ । हुलाकी राजमार्ग १ सय ४२ दशमलव पाँच किमी सडक कालोपत्र भएको र दुई सय किमी सडक ग्राभेल भएको छ । सो आयोजनामा हालसम्म २ सय ७० किमी सडक कालोपत्र, ३ सय २५ किमी ग्राभेल र ८५ पुल सम्पन्न भइसकेको छ । उत्तर दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरको ४१ किमी सडक दुई लेनमा ग्राभेल भएको छ भने दुईवटा पुल सम्पन्न भएको छ । ४ सय ३५ किमी सडक खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । कर्णाली करिडोरअन्तर्गत नौ किमी सडक ट्रयाक निर्माण १४ किमी सडक चौडा तथा सुधार गर्ने काम सम्पन्न भएको छ । करिडोरअन्तर्गतको हिल्सा–सिमीकोट खण्डको पूरा ट्रयाक सम्पन्न भएको छ । कोशी करिडोरअन्तर्गत नौ किमी ट्रयाक निर्माण र नौ किमी ग्राभेल भएको छ ।
सर्वेक्षणले स्थानीयस्तरमा निर्माण भएका सडकमा कालोपत्र सडक कम र धुले तथा कच्ची सडक बढिरहेको जनाएको छ । कमजोर गुणस्तर भएका कच्ची सडकहरु असुरक्षित रहेको छ । सुरक्षित सडकको पहुँच उल्लेखीय रुपमा वृद्धि हुन नसकेको र यसले गर्दा यात्रा जोखिम र ढुवानी महङ्गो भएको पनि सर्वेक्षणमा उल्लेख छ ।
स्थानीयस्तरमा सञ्चालन भएका स्थानीय विकास तथा कृषि सडक विभागअन्तर्गत प्रादेशिक तथा स्थानीय सडकमा सबैभन्दा बढी पहाडमा ५४ दशमलव पाँच प्रतिशत र हिमालमा १३ दशमलव सात प्रतिशत सडक निर्माण भएको छ । यो अवधिमा हिमालमा प्रदेशिक सडक दुई हजार १ सय ९ किमी र स्थानीय सडक छ हजार ३ सय २० किमी गरी आठ हजार ४ सय २९ किमी निर्माण भएको छ । पहाडमा नौ हजार ८ सय ५३ किमी स्थानीय सडक, २३ हजार ७ सय २१ किमी प्रादेशीक सडक गरी ३३ हजार ५ सय ७४ किमी निर्माण सम्पन्न भएको छ । तराईमा पाँच हजार ८० किमी प्रादेशिक सडक र १४ हजार ३ सय १२ किमी स्थानीय सडक गरी जम्मा १९ हजार ३ सय ९१ किमी सडक निर्माण भएको छ ।
स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत गत फागुनसम्ममा १ सय ३९ किमी सडक कालोपत्र, ५८ किमी सडक ग्राभेल र ३ सय ३३ किमी आवधिक मर्मत सम्पन्न भएको छ । – रासस