नर्सलाई कोरोना संक्रमण भएपछि केएमसी अस्पतालको सेवा बन्द

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा कार्यरत एक चिकित्सक तथा एक जना नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको छ । साथै अस्पतालमा उपचारका लागि आएकी एक जना सुत्केरी महिला तथा ओपीडीमा जाँच गराउन आएका एक अर्का व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय लिएको हो ।

अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन । केएमसीकी प्राध्यापक तथा प्रवक्ता डा. चन्दा कार्कीका अनुसार ट्रेसिङमा फेला परेका अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको हिजै स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ ।

आज अझै केही स्वास्थ्यकर्मीको स्वाब पठाइने उनले बताइन् । ‘राम्रै पीपीई लगाएर बिरामी हेरेका स्वास्थ्यकर्मीलाई संक्रमण सऱ्यो,’ उनले भनिन्,‘यस्तो भएपछि अस्पतालका अन्य बिरामी र नजिकको समुदायमा समेत संक्रमण फैलिने सम्भावना र त्रास भयो । अनि हामी आफैले अस्पतालको सेवा बन्द गरेको हो, सरकारले सिल गरेको होइन ।’

उनका अनुसार शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिएको छ भने अस्पतालमा नै उपचाररत अन्य ६० जना बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइनेछ । उपचार छाडेर घर जान चाहने बिरामीको विस्तृत ठेगाना टिपेर मात्रै पठाइनेछ ।

रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यकर्मीलाई मात्रै काममा फर्काइने उनले बताइन् ।

‘अस्पतालका सबै वार्ड निर्मलीकरण हुन थालिसक्यो,’ उनले भनिन्, ‘यो बेलामा नयाँ बिरामी छिर्न दिदाँ संक्रमण सर्ने जोखिम भयो ।’ केएमसीमा बुधबार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी दोलखादेखि आएका संक्रमितको उपचारमा संलग्न थिए । कान्तिपुर

Facebook Comments Box