पत्रकारको भेषमा हतियार, मोटरसाइकलको सिटमुनी पेस्तोल हेलमेटमा गोली भेटियो

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं : जनकपुरधामबाट पेस्तोलसहित एक युवक पक्राउ परे । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका-८ भ्रमपुराका २१ वर्षीय अजिजुत राईन हुन्। ज.४ प. ३९३३ नम्बरको मोटरसाइकलमा सवार रहेका राईनलाई जनकपुरधाम उपमहानगरपालिकाको बेल्ही चोकस्थित तेतरीया बजार नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट पेस्तोलमा लाग्ने म्यागजिन ३ थान, पाँच राउण्ड गोली र एक चक्‍कु पनि बरामद भयो।

मोटरसाइकलको सिटमुनीबाट पेस्तोल भेटियो भने हेलमेटबाट गोली लोड गरिएको म्यागजिन बरामद भयो । लकडाउनको मौका छोपेर भइरहेको अपराधलाई नियन्त्रण गर्न प्रदेश २ का प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी टोली सक्रिय  छन् ।

सबै व्यापार व्यवसाय बन्द छ । मानिस कोरोना भइरसबाट ज्यान कसरी जोगाउने भन्ने चिन्तामा छन्। तर, लकडाउनको मौका छोपेर हतियारधारी समूह भने सलबलाएका छन् ।

हतियारधारी समूहलाई तह लगाउन प्रदेश प्रहरी कार्यालयका डीआइजी धीरजप्रताप सिंह मातहतको टोली सक्रिय छ। । प्रदेश २ मा लकडाउन अवधिमा बढेको अपराधको ग्राफलाई घटाउन प्रहरी संगठनले सादा पोसाकको प्रहरी टोली परिचालन गरेको छ।

एसएसपीबाट बढुवा भएर झण्डै दुई महिनाअघि प्रदेश २ प्रहरी प्रमुखको जिम्मेवारीमा आएका उनले स्टिङ्ग अप्रेसन चलाएर लागुऔषध तस्कर, हतियारधारी समूह, हुण्डिी कारोबारी पक्राउ गर्दै तह लगाइरहेका छन् ।

कोरोनाको कहरमा मानिसलाई धनभन्दा ज्यानकै चिन्ता थपिएको छ भने अपराधीहरु भेष बदल्दै हतियारधारी समूह अपराध गर्न हिँडिरहँदा प्रहरीले पक्राउ गर्न थालेको छ।

लागुऔषध कारोवारी र प्रहरीबीच भएको झड्पमा लागुऔषध कारोवारीको ज्यान गएकोसम्मको घटना भएको छ ।अर्को रोचक घटना पत्रकारको भेषमा हतियारधारी पनि सलबलाउन थालेका छन्।

चैत्र ११ गतेदेखि भएको लकडाउनमा बलात्कार, नाफा खान उत्पादन गरेको विषाक्त मदिराले मानिसको ज्यान लिएको छ भने आत्महत्याजस्ता घटना बढ्दो छ। लकडाउनमा अपराधीले उठाएको शीर झुकाउन प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजीले प्रदेश २ का आठवटै जिल्लामा सादा पोसाकको प्रहरी खटाएका छन्

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार लकडाउन सुरु भएदेखि जेठ १३ गतेसम्म प्रदेश २ का आठवटै जिल्लामा विभिन्न प्रकारका ५६५ वटा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेका छन्।

अनुसन्धान थालेको सूचीमा बलात्कारसम्बन्धी अपराधका ४५ वटा मुद्दा छन् । लकडाउनमा बालबालिका तथा महिलामाथि बलात्कार गर्ने बलात्कारी बढे्का छन् । कर्तव्य ज्यान १२ वटा, ज्यान मार्ने उद्योग २४ वटा, संगठित तथा आर्थिक अपराध ६३ वटा, समाजिक अपराध ६२ वटा घटना लगायतका घटनाका आरोपीलाई पक्राउ गरिएको छ ।

एक सयजनाले आत्महत्या गरेको डर लाग्दो तथ्यांक पनि छ । हातहतियारसहित १७ जना, विषाक्त मदिरा उत्पादन गर्ने २० जना, लागुऔषध कारोवारी ११२ जनालाई प्रहरीले पक्राउ गरेर खोरमा हालेका छन्।

पत्रकारको बिल्लामा हतियारधारी !

सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका-३ विश्वनाथपुर टोलमा ३ जेठ २०७७ मा प्रेस लेखिएको मोटरसाइकलमा चढेर दुईजना जाँदै थिए । लकडाउनमा प्रेसका सवारी साधन चलाउन छुट छ । त्यही मौका छोपेर दुई युवकले इण्डियन मोटरसाइकलमा प्रेस लेखेर पत्रकारको भेषमा हतियार बोकेर जाँदै गर्दा प्रहरी पक्राउ गर्‍यो ।

नक्‍कली पत्रकारको भेषमा हतियार बोकेर हिँडेका बिष्णु गाउँपालिका-३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह- १ का १९ वर्षीय अनिष साह मुस्लिम प्रहरीको जालमा परे ।

बाँसघारीमा लुकेर बसेको अवस्थामा प्रदेश प्रहरी कार्यालय धनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त प्रहरी टोलीको नियन्त्रणमा उनीहरु २ थान पेस्तोलसहित प्रकाउ परेका थिए।

ती युवकको साथबाट प्रहरीले थ्री फिप्टी पेस्तोल, त्यसमा लाग्ने गोली १ थान गोली, त्यसैगरी अर्को नलकटुवा पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान र त्यमा लाग्ने ५ थान गोली बरामद भयो । पक्राउ परेका मदन साहलाई गतवर्ष चोरीको मुद्धा लागेको थियो ।

उनीहरु बिगतदेखि नै मोटरसाइकल चोरी कार्यमा संलग्न रहँदै आएको खुलेको छ ।उनीहरु हातियार बोकेर लागुऔषधको पनि कारोबार गर्दै आएको प्रहरी श्रोतले जनाएको छ ।

लकडाउनमा पेस्तोल दादागिरी

त्यसैगरी धनुषा सहिदनगर नगरपालिका-३ झण्डा चौकबाट कटुवा पेस्तोलसहित ४ जेठ २०७७ मा दुईयुवा प्रहरी फन्दामा परे । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिल कुमार साह रहेको प्रहरीले जनाएको छ ।

अक्षयको साथबाट एकथान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भयो। ज.१२ प ५१६५ नम्वरको मोटरसाइकलमा सवार उनीहरुमाथि शंका लागेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।

लकडाउन उल्लघंन गरी चलाइएको मोटरसाइकल पछाडि सवार अक्षयको साथमा हतियार र गोली भेटिएको थियो । पेस्तोल, गोली र मोटरसाईकलसहित गिरफ्तार गरिएका उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ ।

लकडाउनमा प्रदेश २ का फरक फरक स्थानबाट १७ जनालाई लामो र छोटो गरेर १६ वटा हतियार, त्यसमा लाग्ने १७ राउण्ड गोली र ५ थान म्यागजिनसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
तराईका जिल्लामा सानाहतियारको बिजबिगी छ । पेस्तोल, सिक्सरजस्ता साना हतियार कम्मरमा लुकाएर हिँड्ने र सुनसान ठाउँमा लुटपाट गर्ने दादागिरी देखाउने गिरोहलाई प्रहरीले तह लगाइरहेका छन्।

पछिल्लो समय लकडाउनमा प्रहरी करोना भाइरसबाट जनतालाई जोगाउन व्यस्त भएपछि फेरि अपराधी गिरोह देखा पर्न थालेका छन् । प्रहरीले उनीहरुलाई तह लगाउन प्रदेश २ का जिल्लामा सादा पोसाकको विशेष प्रहरी परिचालन गरेको श्रोतले जनाएको छ ।

लकडाउनमा लागुऔषधको कारोबार

लकडाउनमा भारतीय सीमा नाका बन्द छ ।तर, पनि तस्करहरुले लागुऔषध गाजा नेपालबाट भारत लगिरहेका छन् । कोरेक्स, फेन्सिडिल, प्रतिबन्धित सुईजन्य एम्पु भारतबाट नेपालतर्फ तस्करले भित्र्याउने गरेका छन् ।

प्रदेश २ का चार सय ६४ किलो मिटरमा तीन हजार सशस्त्र प्रहरी तैनाथ छन् । भएका २४६ ठूला-साना नाका सिल छन् । तर, कारोबारीले आलीको बाटो भएर लागुऔषध तस्करी गर्ने गरेका छन् ।

सिरहा भगवानपुर गाउँपालिका(१ स्थित प्रहरी चौकी भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले ९ जेठमा ४ वटा बोरामा प्याक गरी टाउकोमा बोकेर सीमा कटाउन लगिरहेको करीब एक क्वीन्टल गाँजा बरामद गरियो ।

त्यसैगरी सिरहा नगरपालिका-२२ स्थित प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले ७ जेठमा १७ बोतल लागुऔषध डाइलेक्स डीसी १७ बोतलसहित एक युव प्रहरीको जालमा परे । चेकजाँचको क्रममा सोही ठाउँका २१ वर्षीय कृष्ण यादवको लागुऔषध प्रहरीले पक्राउ गरेको थियो ।

जेठ ०६ गते सर्लाही बिष्णु गाउँपालिका-६ पकवा टोलबाट कौडेना गाउँपालिका-६का २९ वर्षीय प्रमोद सहनि १० किलो गाजासहित पक्राउ परे । मोटरसाइकलमा गाजा राखेर लुकाई छिपाई भारतको मधुबनीतर्फ लाँदै गर्दा सीमा प्रहरी चौकी फेनहरा सर्लाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

तस्करमाथि प्रहरीको अप्रेसन, एकको मृत्यु

एक सातअघि मात्रै रातीको समयमा लागुऔषध कारोवारीसँग प्रहरीको भीडन्त हुँदा एकजनाको ज्यानै गयो । महोत्तरीमा लागुऔषध तस्करीविरुद्धको अपरेसनको क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा ११ जेठ २०७७ मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो । रामगोपालपुर नगरपालिका-७ सुसौलमा १६ वर्षीय राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागुऔषध तस्करी नियन्त्रण गर्न सादा पोसाकमा खटिएका प्रहरीले गरेको अप्रेसनमा परेर युवकको ज्यान गएको हो । लागुऔषधसहित तस्करलाई नियन्त्रणमा लिन खोज्दा गाउँका मानिसले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड गोली प्रहार गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

‘तस्करले डाँका आयो भनेर होहल्ला गरिदिएपछि गाउँका मान्छे आएर प्रहरीमाथि ढुंगामुढा गर्न थाले । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर घाइते भएका युवकको उपचारको क्रमा ज्यान गयो,’ उनले भने ।

प्रहरीले घटनास्थलबाटै लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र यादव र २७ वर्षीय रोहित यादवलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भयो । पक्राउ परेका सुरेन्द्र मृतक राजनका बुवा हुन् ।  पक्राउ परेका अर्का रोहित सुरेन्द्रको सहयोगी रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।

तस्कर पक्रिन व्यापारी भेषमा प्रहरी

केही लागुऔषध विक्रीवितरण भइरहेको छ भन्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खबर पुगेको थियो। लकडाउनमा ठूलो परिणाममा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट राती सादा पोशाकका प्रहरी खटिएका थिए ।

व्यापारी बनेर प्रहरी आफै सादा पोसाकमा गयो । उनीहरुले एक ठाउँमा ५० किलो गाजा छ भनेर भने । कारोबारीले पहिला भाउ फाइनल गरे । डिआइजीका अनुसार किन्न आएका प्रहरी हुनसक्छ भनेर कहाँबाट उनीहरुलाई शंका भयो । प्रहरीलाई थाहा नहुँदै उनीहरुले १०-१२ जना मान्छे बोलायो । त्यसपछि उनीहरुको समूह र प्रहरीबीच विवाद सुरु भयो ।

तस्कारले बोलाएका मान्छेले प्रहरीको टाउकोमा रडले हिर्कायो । लागुऔषधका कारोवारी पक्रिन खटिएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका हवल्दार संजिव पासमान र मनोज साहको प्रहरीको टाउको फुट्यो ।

प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर त्यहाँ राजन यादवको मृत्यु भयो ।तस्करको समूहले रडले हिर्काउँदा प्रहरी हवल्दार पासमानको टाउँमा पाँच टाका लगेको छ । चार-पाँच सय थान लागुऔषध ट्याबलेटसहित कारोबारी सुरेन्द्र यादव र उनका सहयोगी राहुल यादव पक्राउ परेका छन् ।उनीहरुमाथि लागुऔषध कारोबारमा मुद्धा चलाइएको छ ।

लकडाउनदेखि हालसम्म प्रदेश २ मा १ सय १२ जना लागुऔषध तस्करी तथा विक्री वितरण गर्ने कारोबारी पक्राउ परेका छन् । उनीहरुको साथबाट दुई क्वीन्टल गाजा,  एक किलो ६५० ग्राम चरेस, ९ हजार ६१५थान लागुऔषधको सुईको एम्पुललगायत बरामद गरेको छ ।

लकडाउनका बेला गाउँघरमा लागुऔषध सेवनकर्ता युवाले अपराधिक गतिविधि पनि निकै बढाएका छन् । कोरोना भाइरस संक्रमणको त्रासले गाउँबस्तीमा सुरक्षाकर्मीको खासै उपस्थीति नभएको मौका छोपी दुव्र्यसनीले लुटपाट र अपराधका घटना समेत घटाउन थालेका छन् ।

कोरोनाको कहरमा मदिराको मार

लकडाउनमा भोकमारीको चर्चा चुलिएको बेलाका गत वैशाखको दोस्रो साता महोत्तरीको बर्दिबास र भंगहा नगरपालिकामा १० जनाको ज्यान गयो । उनीहरुको मृत्युको कारण थियो विषाक्त मदिरा ।लकडाउनमा रमाइलो गरेर दिन काट्न भनी  भट्टीमा खाएको विषाक्त मदिराले भटाभट ज्यान गयो ।

इपीडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोखरेलको टोलीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कारोना भाइरसले कसैको मृत्यु नभएको जनाएको छ ।

कोरोनाको कारण भटाभट मानिसहरुको मृत्यु भएको आशंकामा महोत्तरीमा त्रास फैलिएको थियो ।’मृतकको घरघरमा पुगियो । त्यहाँको अवस्था हृदयविदारक थियो । धेरै कठिनाइले हामीले प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेका हौं,’ डा. अमृतले भने, ‘मृत्यु भएका सबैको पोस्टमार्टम गर्न सकिएको छैन । परीक्षण गरिएको दुईजनाको श्वासको रिपोर्टले कोरोना नभएको पुष्टि भएको छ ।’

‘२०७७ वैशाख १० गते यता महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर-१२ का ४ जना र भंगहा नगरपालिकाको वडा नम्बर-६, ७ मा ८ जना गरी १२ जनाको मृत्यु भएको थियो, ‘स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र कुमार झाले भने ।

‘परिवारजन, मृत्यु भएकासँगसँगै रक्सी खाएका तथा मृतकको पृष्ठभूमी केलाउँदा मृत्युको कारण विषाक्त मदिरा रहेको हामीले फेला परेका छौं, ‘ घटनाको अध्ययन गरिरहेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना धरानका सह-प्रध्यापक डा. खेमराज शर्माले भने ।

विषाक्त मदिराविरुद्ध कठोर बन्दै प्रहरी 

२०७६ सालको होलीमा बिषाक्त रक्सी खाएर धनुषाको रमदैया र जनकपुरमा २० जनाको ज्यान भएको थियो । विषाक्त मदिराले लकडाउनमा मानिसको ज्यान जान थालेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधामले अभियानकै रुपमा अवैध मदिरा नियन्त्रण अभियानै चलाइरहेको छ ।

लकडाउन अवधिमा प्रदेशभरी  ३२४ वटा रक्सी भट्टी, २ लाख ३३ हजार ७७५ लिटर मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ र ७५ हजार ७४३ लिटर तयारी मदिरा नष्ट गरिएको तथ्यांक छ ।

खुल्ला सीमाले सधै समस्या

नेपालबाट भारततर्फ गाजा पठाउने र भारतबाट नेपालमा औषधिजन्य लागुऔषध ल्याएर कारोबार गर्ने गिरोह लकडाउनमा फेरी सक्रिय भएका छन् । क्वारेन्टाइनको व्यवस्थान, कोरोना संक्रमितको उपचार, लकडाउनको कार्यान्वयनमा प्रहरी व्यस्त भएको मौकाछोपेर अपराधी गिरोहहरु सक्रिय भएका हुन्। प्रदेश २ मा चार सय ६४ किलो मिटर खुल्ला सीमा छ । खेतको आलीबाटै नेपाल-भारत ओहोरदोहार गर्न सकिन्छ ।
खुल्ला सीमाको फाइदा उठाएर नेपालमा अपराध गरेर भारतमा गएर अपराधी लुक्दै आएको पृष्ठभूमी छ।खुल्ला सीमा भएको कारण यहाँ स-साना हतियारबाट हुने अपराधको जोखिम बढी छ। अर्कोतर्फ लागुऔषधको औसारपसार पनि त्यतिकै बढ्दै गएको छ।

अपराधा नियन्त्रण गरेका छौं : डीआइजी

‘सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी व्यापक छ । ‘लागुऔषध तस्करी बढेको छ त भन्द मिल्दै।कोरोनबाट जनतालाई बचाउनेतर्फ अलि बढी काममा छौं । तस्करी, अपधार गर्न सक्ने प्रवृत्ति छ, ‘प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख धीरजप्रताप सिंह भन्छन् ।

‘लागुऔषध सेवकर्ता नै त्यसको व्यापारी हुने गरेको छ । ‘सेवनकर्ताले लागुऔषध किन्छन्, अरुलाई बिक्री गर्छन्, फाइदाले आफै किनेर खान्छन्, ‘उनले भने, ‘लागुऔषधको कारोबारीया ९० प्रतिशत सेवान कर्ता नै हुन्छन् । लागुऔषध सेवन कर्ता अपराधिक गतिविधिमा संलग्न रहेको भेटिन्छ ।’हतियारसहित लागुऔषध कारोबारी देखिने गरेको उनले बताए ।

डीआइजी सिंहका अनुसार लागुऔषध कारोबारी हतियार बोकेर हिँड्ने, त्यसैपरे भने लुटदिने गतिविधिमा सहभागी रहेको देखिन्छ।राजनीतिक दलको कर्यकर्ता, पत्रकार अन्य भेषमा उनीहरु हिँडेर प्रहरीको आँखा छल्ने गरेका उनीहरु पक्राउ परेपछि खुल्न आएको छ।

‘लकडाउनमा हुने अपराध नियन्त्रण गर्न सादापोसाकमा प्रहरी परिचालन गरिएको छ।लकडाउनको अवधिमा ठूला अन्य अपराध भएका छैन । भएकालाई हामी नियन्त्रण गरेका छौं। सूचना संकलन गरेर अपराधी मनोवृत्ति भएका व्यक्ति, समूहलाई पक्राउ गरेका छौं,’ प्रमुख सिंहले भने।  अन्नपूर्ण

Facebook Comments Box