सात मन्त्रालयमा नौवटा खर्च कटौतीका प्रस्ताव पेस: विनियोजित बजेटमाथि छलफल

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, जेठ २४ । आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफल प्रारम्भ भएको छ । शुक्रबार सातवटा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि छलफल भयो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय शीर्षकमा छलफल भएको छ । छलफल आइतबारसम्म जारी रहनेछ ।

खर्च कटौतीको प्रस्ताव
सात मन्त्रालयमा नौवटा खर्च कटौतीका प्रस्ताव पेस भएका छन् । खर्च कटौतीको प्रस्ताव पेस गर्दै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले महिलाका मुद्दा हेर्न फास्ट ट्र्याकबाट पारिवारिक अदालतको स्थापना नभएको बताउनुभयो । ज्येष्ठ नागरिकको हकमा पनि ठोस योजना पनि नआएको उहाँको भनाइ छ । विदेशबाट नै नागरिकलाई मतदानको अधिकार कार्यान्वयन नभएको पनि उहाँको भनाइ छ ।
यस्तै खर्च कटौतीको प्रस्ताव पेस गर्दै काँग्रेस सांसद पुष्पा भुसालले संविधान कार्यान्वयनका लागि सरकार जिम्मेवार नदेखिएको बताउनुभयो । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा पनि गम्भीर नदेखिएको भुसालको भनाइ छ । कार्यबोझ बढे पनि न्यायलयमा बजेट कम भएको उहाँको भनाइ छ ।

न्यायमा पहुँच लगायतका कार्यक्रम पनि सरकार संवेदनशील नभएको भुसालको टिप्पणी छ । यस्तै खर्च कटौतीको प्रस्तावसमेत पेस गर्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कानुन, न्याय तथा संसदीय मन्त्रालयका काम प्रभावकारी नभएको बताउनुभयो । यस्तै इम्बोस्ड नम्बर प्लेट खारेज गरेर साविकको व्यवस्था काम गर्न सुवालले माग गर्नुभयो ।
यस्तै काँग्रेस सांसद उमा रेग्मीले सरकारको प्राथमिकता यतिबेला कोरोना हुनुपर्ने भए पनि विभिन्न आयोग बनाएर कार्यकर्ता पोस्न लागेको आरोप लगाउनुभयो । विदेशबाट फर्कने युवालाई रोजगारी सिर्जना गर्नेबारे सरकारको ठोस योजना नभएको नभएको रेग्मीको भनाइ छ । कृषि क्षेत्रले अपेक्षा गरेअनुसार बजेट आउन नसकेको उहाँको भनाइ छ । काँग्रेस सांसद सञ्जयकुमार गौतमले सडक पूर्वाधार क्षेत्रमा ठोस कार्यक्रम नदेखिएको बताउनुभयो । गौतमले सडक सञ्जाल विकासको आधारभूत संरचना भए पनि पछिल्ला वर्षहरूमा सरकारले प्राथमिकता कम दिइरहेको बताउनुभयो ।
यस्तै सांसद उमाकान्त चौधरीले सरकारका कार्यक्रम केन्द्रीकृत भएको टिप्पणी गर्नुभयो । सहरी पूर्वाधारका कार्यक्रमले तराई मधेसमा प्राथमिकता हुन नसकेको चौधरीको भनाइ छ । उपत्यकाका चारसहित देशका सात स्थानमा अघि बढाउने भनिएको स्मार्ट सिटीको परिकल्पना यो वर्ष पनि प्रतिबद्धतामा मात्र सीमित भएको उहाँको तर्क गर्दै बाढीपहिरो पीडितलाई पुनस्र्थापनाको कुनै पनि कार्यक्रम बजेटमा नभएको बताउनुुभयो ।
काँग्रेस सांसद लक्ष्मी परियारले बजेटमा कमैया, कमलरी, भूमिहीन, हलिया, हरूवा चरुवालगायतलाई एकै बास्केटमा राखिनु गलत भएको बताउनुभयो । परियारले सरकारको नारा भोकले कोही मर्दैन भन्ने रहे पनि हरूवा चरुवा मुक्ति कहिले हुन्छ भनी प्रश्न गर्नुभयो ।
सांसद सुजाता परियारले आधारभूत खानेपानीको पहुँच अघिल्लो बजेटले नै पूरा गर्ने भनिए पनि आगामी वर्ष पनि आश्वासन मात्र सीमित भएको बताउनुभयो ।
यस्तै खर्च कटौतीको प्रस्ताव समेत पेस गर्दै काँग्रेस सांसद रङ्गमती शाहीले सरकारका प्राथमिकता नै उल्टो भएको बताउनुभयो । शाहीले योजनाको प्राथमिकीकरण सही नभएको बताउनुभयो । उहाँले महिला उत्थानका कार्यक्रम प्रभावकारी नभएको बताउनुभयो ।

भौतिक पूर्वाधार क्षेत्रको बजेट उपयुक्त
यस्तै दलीय आधारमा छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कृष्णभक्त पोखरेलले भौतिक पूर्वाधार क्षेत्रको बजेट उपयुक्त भएको बताउनुभयो । पोखरेलले प्रत्येक निर्वाचन क्षेत्रमा सडक विस्तारका लागि दस दस करोड बजेट विनियोजन गर्ने विषय अन्योलमा परेको बताउनुभयो । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकको योजना नदेखिएको भन्दै उहाँकाले भौतिक पूर्वाधार र अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सहरी विकास मन्त्रालयका योजना सन्तुलित नै भएको उहाँको भनाइ छ ।
यस्तै काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले संविधानले समावेशी व्यवस्थालाई अङ्गीकार गरे पनि कानुन अभावमा प्रतिनिधित्व हुन नसकेको बताउनुभयो । उहाँले अहिलेको अवस्थालाई सम्बोधन गर्नेगरी कानुन तर्जुमा गर्न सुझाव दिँदै भूमि व्यवस्थापनका सम्बन्धमा पनि सरकारको ठोस प्रस्ताव बजेटमा छैन भन्नुुभयो ।
यस्तै राजपा सांसद एकवाल मियाँले योजना वितरण समानुपातिक समावेशी रूपमा नभएको बताउनुभयो । हरेक निर्वाचन क्षेत्रमा एक अर्ब रुपियाँका दरले बजेट विनियोजन गर्न मियाको माग छ ।
यस्तै समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहरी विकास योजनाले कतिपय महानगरका योजना कटौती गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । यादवले सहकारी नियमनको कुनै योजना सरकारले नल्याएको भन्दै नियमनको स्पष्ट व्यवस्था गर्न सुझाव दिनुभयो ।
सांसद दलबहादुर रानाले भौतिक पूर्वाधार क्षेत्रमा भएको बजेट वितरण उपयुक्त भएको बताउनुभयो । पाल्पाको रामपुर क्षेत्रमा सहरी विकासका योजनाका लागि पटक पटक आग्रह गरे पनि योजना समावेश नभएकोमा रानाले असन्तुष्टि जनाउनुभयो । सांसद प्रमोद यादवले बजेट समानुपातिक रूपमा विनियोजन नभएको बताउनुभयो । सांसद रामबाबुकुमार यादवले बजेट सन्तुलित नभएको टिप्पणी गर्नुभयो । गोरखापत्र

Facebook Comments Box