चितवनमा कोरोना संक्रमित पुष्टि भएका ३० जना मध्ये २१ वर्षीया युवती अस्पतालमा कार्यरत नर्स

खवर पाटी (खोज खबरको अभियान)

चितवन, जेठ २६, चितवनकी एक नर्समा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज (सोमबार) चितवनमा पुष्टि भएका ३० जना मध्ये एक जना भरतपुर महानगरपालिका–४ की २१ वर्षीया ती नर्स युवती पनि हुन् । ती युवती भरतपुरको मनाकामना अस्पतालमा कार्यरत रहेकी छिन् । भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले नर्स युवतीमा कोरोना संक्रमण भएको पुष्टि गरे ।

यो संगै चितवनमा आज एकै दिन तीन जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । जसमध्ये दुई जना चिकित्सक छन् । संक्रमित एक चिकित्सक भने नारायणी सामुदायिक हस्पिटलमा कार्यरत छन् ।

आज भरतपुरमा परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये २३ जना चितवनका छन् भने अन्य बाहिरी जिल्लाका छन् ।

यस्तै कोरोना संक्रमितहरुमा सोमबार थप २१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले २१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए । यो सहित निको हुनेको संख्या ४८८ पुगेको छ।

प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्। सोमबार डिस्चार्ज हुनेमा महिला १ जना र पुरुष २० जना रहेका छन्।बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर घर फर्किएको प्रवक्ता जागेश्वरले बताए।

सोमबार एकैदिन ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ३१४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३७ सय ६२ पुगेको हो। नयाँ संक्रमितमध्ये २९४ पुरुष र २० महिला छन्।

आइतबार मात्रै २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १०२ जना डिस्चार्ज भएका थिए।हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ९ सय ७१ र आरडीटी विधिबाट एक लाख ५६ हजार ९ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ६६ र आरडीटी विधिबाट ११ हजार ९४२ जनाको नमुना गरी १६ हजार ७०८ नमूना परीक्षण भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वरका अनुसार एक लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ३ हजार २६० रहेका छन्। ७१ जिल्लामा संक्रमण फैलिएको छ। प्रयोगशालाको संख्या २१ पुगेको छ।

Facebook Comments Box