नौ वटा राष्ट्रले कोरोनाभाइरस मुक्त भएको घोषणा गरे

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, जेठ २९ । विश्वभर कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७० लाख नाघेको छ । चार लाख भन्दा बढीको मृत्यु भएको छ । दक्षिण एशियाली राष्ट्र भारत, पाकिस्तान र नेपालमा भने कोरोना सङ्क्रमणको दैनिक नयाँ बिरामीको सङ्ख्या चिन्ताजनक रुपमा बढिरहँदा यी नौ वटा राष्ट्रले कोरोनाभाइरस मुक्त भएको घोषणा गरेका छन् ।

न्युजिल्याण्ड
जुन ८ मा न्युजिल्याण्डले कोरोनाभाइरसका अन्तिम बिरामी निको भई घर फर्केको घोषणा गर्यो । अब भाइरस सङ्क्रमणका सक्रिय बिरामी नरहेको स्वास्थ्य अधिकारीहरूले जुन ८ मै प्रष्ट्याए । प्रशान्त महासागरको टापू राष्ट्र न्युजिल्याण्डमा एक हजार पाँच सय सङ्क्रमित थिए । त्यहाँ २२ जनाले मृत्युको सामना गरे । न्युजिल्याण्डको जनसङ्ख्या ४८ लाख ८६ हजार छ ।
न्युजिल्याण्ड सात हप्ताको लकडाउनलाई कडाइपूर्वक लागू गर्यो । जसमा सबै व्यापारिक र व्यावसायिक गतिविधि र सर्वसाधारणको जनजीवन पूर्णरुपमा ठप्प रह्यो । केही अत्यावश्यक सेवामा कार्यरत श्रमिकका अतिरिक्त । प्रधानमन्त्री जसिन्डा अर्डेनले जुन ९ देखि कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने जोखिमबीच अपनाइएको सबै सतर्कताका उपायहरू खुला भएको र सीमा प्रतिबन्ध यथावत रहने घोषणा गर्नुभयो ।

तान्जानिया
आइतबार अफ्रिकी राष्ट्र तान्जानियाले कोरोनामुक्त भएको दाबी गर्यो । सार्वजनिक रुपमा कोरोना सङ्क्रमणसँग सम्बन्धित तथ्याङ्क अद्यावधिक गर्न बन्द गरेको छ हप्तापछि उसले यस्तो दाबी गर्यो । दैविक कृपाले कोरोनामुक्त हुन सफल भएको तान्जानियाका राष्ट्रपति जोन मगुफुलीले आइतबार एक चर्चमा आयोजित समारोहमा धारणा राख्नुभयो । तान्जानियामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ५०९ जना रहेको छ ।
तर प्रतिपक्षी दल र छिमेकी राष्ट्रले पूर्वी अफ्रिकी राष्ट्र तान्जानियामा सङ्क्रमितको सङ्ख्या उकालो लाग्ने क्रम यथावत रहेको जनाएको छ । विपक्षीले तान्जानियामा लाखौँ व्यक्ति सङ्क्रमित रहेको दाबी गरेको छ । तान्जानियाको जनसङ्ख्या पाँच करोड ९७ लाख ३४ हजारको करिब छ । यद्यपि सङ्क्रमितको सङ्ख्या न्यून र मृत्युको घटना दर्ता नगरिएको जनाउनु आश्चर्यजनक रहेको अर्थ्याइएको छ ।

भ्याटिकन
द भ्याटिकनले जुन ६ मा कोरोनाभाइरसका कुनै बिरामी नरहेको जनाएको छ । सबै १२ जना सङ्क्रमित मुक्त भइसकेको उसले जनाएको छ । द भ्याटिकनका प्रवक्ता मटिओ ब्रुनीले सबैभन्दा पछिल्ला बिरामीको परीक्षण प्रतिवेदन सङ्क्रमण नरहेको पुष्टिसँगै मुक्त भएको बताउनुभयो । द भ्याटिकनमा कोरोनाबाट मृत्यु भएको छैन । स्वास्थ्य आपातकालीन अवस्था सुरु भए यता पाेप फ्रान्सिसले जुन ७ मा सेन्ट पिटर्स स्क्वायरमा पहिलोपटक सम्बोधन गर्नुभयो । द भ्याटिकनको जनसङ्ख्या मात्र ८२५ रहेको छ ।

फिजी
मे महिनाको अन्तिम साता फिजीले कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको जनायो । उसले सबै १८ जना भाइरस सङ्क्रमणबाट मुक्त भएको जनाएको छ । दक्षिणी प्रशान्त क्षेत्रको टापू राष्ट्र फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमरामाले शुक्रबार कोरोनामुक्तको घोषणा गर्नुभयो । कुनै सक्रिय बिरामी नभएको उहाँले दाबी गर्नुभयो । बैनिमरामाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयो, “परीक्षणको दर बढाउँदै आएपनि पछिल्लो सङ्क्रमित फेला परेको ४५ दिन भएको छ, मृत्यु भएको छैन्, निको हुने दर शत प्रतिशत दर्ता गरिएको छ ।”
करिब नौ लाख जनसङ्ख्या रहेको फिजीले अप्रिल महिनामा सीमा प्रतिबन्धसँगै केही क्षेत्रमा लकडाउन गरेको थियो ।

मोन्टेनेग्रो
पहिलो सङ्क्रमित पुष्टि भएको ६९ दिनपछि मोन्टेनेग्रोले मे २४ मा कोरोनामुक्त भएको घोषणा गरेको छ । कोरोनामुक्त घोषणा गर्ने मोन्टेनेग्रो पहिलो युरोपेली राष्ट्र हो । मोन्टेनेग्रोमा ३२४ जना कोरोनाभाइरस सङ्क्रमितको पुष्टि भएको छ । नौ जनाको मृत्यु दर्ता गरिएको छ ।

सेसिलाज
टापु राष्ट्र सेसिलाजको जनसङ्ख्या ९६ हजार ७६२ छ । मे १८ मा सेसिलाजको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट पूर्णमुक्त भएको जनायो । सेसिलाजमा ११ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको थियो । मृत्युको सामना उसले गरेन ।

सेन्ट किट्स एण्ड नेभिस
वेष्टइन्डिज राष्ट्र सेन्ट किट्स एण्ड नेभिसले मई १९ मा कोरोनामुक्त भएको घोषणा गर्यो । ५२ हजार ४४१ जनसङ्ख्या रहेको टापु राष्ट्र सेन्ट किट्स एण्ड नेभिसमा कोरोना सङ्क्रमणका १५ बिरामी फेला परेको थियो । सबै सङ्क्रमित विदेशबाट आएको जनाएको सेन्ट किट्स एण्ड नेभिसले कोरोना सङ्क्रमणको कुनै बिरामी नभएको जनाएको छ ।

टिमोर लेस्ट
आफ्नो २४ औँ सङ्क्रमित निकोपछि मई १५ मेमा टापु राष्ट्र टिमोर लेस्टले कोरोनामुक्त भएको जनाएको छ । भाइरसको सङमणबाट मृत्युको घटना टिमोरले सामना गरेनन ।

पपुवा न्यू गिनी
सन् २०१८ को जनगणना अनुसार ८६ लाख जनसङ्ख्या भएको प्रशान्त क्षेत्रका राष्ट्र पपुवा न्यू गिनीले मे ४ तारिमा नै कोरोनामुक्त भएको दाबी गर्यो । पपुवा न्यू गिनीमा कोरोनाका २४ जना सङ्क्रमितको पुष्टि भएको थियो । भाइरसबाट कुनै मृत्युको सामना उसले गरेन । गोरखापत्र

Facebook Comments Box