सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा स्थिति भयावह हुन सक्ने जनस्वास्थ्यविज्ञहरूको चेतावनी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना संक्रमण फैलन सक्ने भयसमेत बढ्न थालेको भन्दै विज्ञहरूले प्रदर्शन रोक्न र त्यस्ता प्रदर्शनमा नजानसमेत सुझाव दिएका छन् । उनीहरूले लगातारको प्रदर्शनले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भौतिक दूरी कायम गर्न सकियो भने संक्रमण प्रसारण हुने सम्भावना कम रहन्छ त्यसैले भौतिक दूरी कायम गर्नुनै संक्रमण रोक्ने उत्तम विकल्प हो ।
डा.शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

उनीहरूले आन्दोलनको मोडालिटी परिवर्तन गर्नसमेत आन्दोलनमा उत्रिएका नागरिकलाई सुझाव दिएका छन् । कुनै व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भए श्वासप्रश्वासको माध्यमबाट कोरोना भाइरस फैलिने भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर सरकारलाई दबाब दिन सकिने जनस्वास्थ्य विज्ञहरूको सुझाव छ । हाल राजधानीलगायत देशका विभिन्न स्थानमा दैनिक सरकारविरुद्ध सडकमै प्रदर्शनकारी उत्रिएर आन्दोलन गर्दै आएका छन् ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्नु नै अहिलेको उपयुक्त विकल्प भएको बताए । उनका अनुसार भौतिक दूरी कायम गर्न सकियो भने संक्रमण प्रसारण हुने सम्भावना कम रहन्छ । कोरोना भाइरसको संक्रमण उच्चतम बिन्दुतर्फ गइरहेकाले जमघट र भीडभाड गर्दा स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी पुनले दिएका छन् ।

भौतिकदूरी कायम गर्नु र श्वासप्रश्वास अन्तरसम्बन्धित रहेको भन्दै संक्रमित व्यक्ति भीडभाडमा गए संक्रमण प्रसारण हुने सम्भावना बढीहुने उनले बताए ।

कुनै व्यक्ति संक्रमित रहेको र सो व्यक्ति भीडमा ठुलो स्वरले कराउँदा एकैपटक धेरै व्यक्तिमा संक्रमण सर्ने सम्भावना बढीरहेको पछिल्लो अनुसन्धानले देखाएको छ । भौतिक दूरी कायम गर्दै पुर्ण रुपमा मास्क लगाएर, आफ्नो हात नाक, मुख र आँखामा नलगाई सानो समूहमा रहेर दबाबका कार्यक्रम सञ्चालन गर्न भने सकिने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले विरोधको स्वरुप परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले अहिले भइरहेका आन्दोलनले कोरोना संक्रमणको दर अत्यधिक बढेर जाने जोखिम देखिएकाले सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने,‘आन्दोलनमा भौतिक दूरी कायम हुने सम्भावना कम रहन्छ । मास्कको प्रयोग सही तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने र स्यानिटाइजर प्रयोग नहुने भएकाले रोग सर्ने सम्भावना अत्यधिक हुन्छ । विरोधको स्वरुप परिवर्तन गरेर सरकारलाई दबाब दिन सकिन्छ ।’

आन्दोलनमा मास्कको प्रयोग सही तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने र स्यानिटाइजर प्रयोग नहुने भएकाले रोग सर्ने सम्भावना बढी हुन्छ त्यसैले विरोधको स्वरुप परिवर्तन गरेर सरकारलाई दबाब दिन सकिन्छ ।
डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

उनले भीडभाडले संक्रमण फैलिन गई स्थिति नियन्त्रण बाहिर जानसक्ने बताए । विरोध प्रदर्शनमा चिच्याउँदा, खोक्दा, नारा लगाउँदा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै रहने विभिन्न अनुसन्धानले नै प्रस्ट पारेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले भौतिक दूरी दुई मिटरभन्दा धेरै कायम गरेर हिँड्नुपर्ने अवस्थामा यस प्रकारका आन्दोलनले संक्रमण बढाउन उल्लेख्य भूमिका खेल्न सक्ने बताए । उनले भने, ‘भीड हुने स्थानमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ । भौतिक दूरी कायम गरेर आवतजावत गर्नुपर्छ ।’ यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य मापदण्ड २०७७ बनाएर कार्यान्वयनमा ल्याएको छ ।

संक्रमितको संख्या ५ हजार नाघ्यो
शुक्रबार सबैभन्दा धेरै थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन् । नेपालमा हालसम्म ८ सय ७७ जना उपचारपछि निको भएका छन् ।
देशका ७२ जिल्लामा संक्रमण देखिएको छ । हालसम्म १ लाख २१ हजार ८ सय ६२ जनाको आरटीपीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १ सय ६९ जना आइसोलेसनमा बसेका छन् । यस्तै, १ लाख ५८ हजार ५० जना क्वारेन्टिनमा बस्दै आएका छन् । संक्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ ।

अन्य देशमा आन्दोलनले ल्याएका भयावह अवस्था
भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए । जसका कारण अहिले महाराष्ट्रमा संक्रमितको संख्या १ लाख पुग्ने क्रममा छ भने शुक्रबार सम्म ३ हजार ५ सय ९० जनाको मृत्यु भएको छ । त्यस्तै, दिल्लीमा जुलाईको अन्त्यसम्म ५ लाख संक्रमित पुग्न सक्ने त्यहाँका मुख्यमन्त्रीले नै आँकलन गरेका छन् । यसैगरी,स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केहीहप्तापछि आफन्तले शव हेर्नसमेत नपाएको अवस्था आएको थियो । ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएका थिए । जसका कारण ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ । राजधानी

Facebook Comments Box